सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १९ मंसिर २०८१ / Wednesday, 04 December 2024

नेपाली जनसम्पर्क समिति जापानद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रकाशित समय: आइतवार, ०९ : २८ बजे भदौ १० गते



नेपाली जनसम्पर्क समिति जापानद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

टोकियो, नेपाली कांग्रेसको जापान स्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानले जापान भ्रमणमा आउनुभएका नेपाली कांग्रेस ललितपुरका उपसभापति एवं गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, महालक्ष्मी नगरपालिका उप प्रमुख लक्ष्मी महर्जनलाई भव्य स्वागत गरेको छ। 

जनसम्पर्क समिति जापानले उपसभापति महर्जनको प्रमुख आतिथ्यतामा नेपालको पछिल्लो राजनीतिक अवस्था र गैर आवासीय नेपाली संघ (NRN) का विषयमा अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ। 

 

कार्यक्रममा उपसभापति महर्जनले गैरआवासीय नेपालीहरुको महत्वपूर्ण सहयोगले नेपालमा विकासको गति अघि बढेको बताए। नेता महर्जनले नेपाली कांग्रेस पार्टीलाई उचाईमा पुर्याउन गैर आवासिय नेपालीहरुको खेलेको भूमिकाको उच्च प्रशंसा गरे। उनले निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गरिसकेकाले २०८४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत सहितको बलियो पार्टी बनाउन सक्रियतापूर्वक भुमिका निर्वाह गर्न आग्रह गरे। 

नेता महर्जनले यहि अक्टोबर १७ देखि २२ नेपालमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठलाई बिजयी बनाउन अपिल समेत गरे।

 

त्यस्तै कार्यक्रममा गैरआवसीय नेपाली संघका अध्यक्ष पदको उम्मेदवार महेश श्रेष्ठले आँफु प्रजातन्त्रवादी,लोकतन्त्रवादी शक्तिहरूको सहयोग र समर्थनमा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेको कुरा बताए। उनले आफू विजयी भए नेपालको समग्र हित र नेपालमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

बिपि चिन्तन प्रतिष्ठान एवं गणेशमान सिंह फाउन्डेसन जापानका अध्यक्ष समेत रहेका जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समिति जापानका पधाधिकारी एवं सदस्यज्युहरुको बाक्लो उपस्थिति रहेको थियो।