सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १८ मंसिर २०८० / Monday, 04 December 2023

शिक्षकहरूले प्रहरीको घेरा तोड्न खोजेपछि बानेश्वर तनावग्रस्त



प्रकाशित समय: बिहिवार, ०३ : ४१ बजे आश्विन ४ गते



शिक्षकहरूले प्रहरीको घेरा तोड्न खोजेपछि बानेश्वर तनावग्रस्त

काठमाडौं । शिक्षकहरूको जारी सडक आन्दोलनको क्रममा बानेश्वरमा तनाव भएको छ । माइतीघरबाट बानेश्वर मार्चपास आएका आन्दोलनकारीले बानेश्वरको प्रहरी घेरा तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको छ ।

 

हजारौंको संख्यामा रहेका शिक्षकको हुलले प्रहरीको ब्यारिगेट तोड्न खोजेका छन् । सोक्रममा प्रहरीले बल प्रयोग गरेको छ । शिक्षकहरू बानेश्वरको एभरेष्ट होटलअगाडिबाट प्रहरी घेरा तोड्न खोजिरहेका छन् ।आन्दोलनले उपत्यकाको सडक अस्तव्यत भएको छ । माइतीघर-नयाँबानेश्वरसम्म जारी आन्दोलनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीहरु जाममा परेका छन् ।

 

आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

 

महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् ।

 

विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् । राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरुले स्थानीय तह मातहत नबस्ने बताएका छन् ।