सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ४ भदौ २०७६ / Wednesday, 21 August 2019

तोप २१ चौतारा सांगाचोकगढी मेयर कप - आरसीटीले चुम्यो उपाधि


प्रकाशित समय: बिहिवार, ०७ : ४८ बजे चैत्र २८ गते



तोप २१ चौतारा सांगाचोकगढी मेयर कप - आरसीटीले चुम्यो उपाधि

सिन्धुपाल्चोक-  तोप २१  दोस्रो चौतारा सांगाचोकगढी मेयर कप फुटबल प्रतियोगिता उपाधि रानीपोखरी कर्नर टिम (आरसिटी)ले जितेको छ।

 

बिहीबार भएको फाइनल खेलमा रानीपोखरी कर्नर टिम र त्रिभुवन आर्मीबिच कडा प्रतिस्पर्धा भएको थियो। रानीपोखरीले त्रिभुवन आर्मीलाई १-० गोल अन्तर ले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो।

 

पहिलो हाफमा  अमृत गुरुङले गरेको गोल नै निर्णायक बन्यो। मंगलबार भएको सेमिफाइनल खेलमा एपीएफ ट्राइबेकरमा चुक्दा उपाधि होडका लागि आरसिटीसँग आर्मीको भेट भएको हो।

 

खेलको निर्धारित ९० मिनेटको समयमा गोल नभएपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो। सोमबार भएको पहिलो सेमिफाइनल खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले भगवती युवा क्लब टोखालाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।

 

प्रतियोगितामा विजेता बनेको टिमले ५ लाख ५ हजार संगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको आर्मीले २ लाख ५ हजारसँगै मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

 

आयोजक तोप २१ का अध्यक्ष अशोक कार्कीका अनुसार प्रमुख अतिथि अग्निप्रसाद सापकोटाले पुरस्कार प्रदान गरेका थिए। त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी र सवार्धिक गोलकर्तालाई २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट युवा खेलाडीलाई नगद १० हजार प्रदान गरिएको छ।

 

उपाधि विजेतालाई अरनिको राजमार्गमा रहेको माया रिसोर्टमा वान डे स्टेसहित र्‍याफ्टिङको व्यवस्थासमेत गरिएको आयोजक तोप २१ले जनाएको छ।