सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १३ आश्विन २०८० / Saturday, 30 September 2023

मलेसियालाई हराउँदै नेपाल समूह विजेता



प्रकाशित समय: शुक्रवार, ०१ : ५६ बजे असार १५ गते



मलेसियालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं । एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । मलेसियाकाे बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो ।

 

शुक्रबारको खेलमा टस जिती पहिलो ब्याटिङ रोजेको नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो ।

 

मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए । कप्तान मोहम्मद आलिफले १५ तथा मुहम्मद अक्रमले १२ रन बनाए । मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

नेपालका लागि अशोक धामीले ७ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए ।

 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो । नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

 

नेपालको १५ रन हुँदा पहिलो विकेट गुमेको थियो । ओपनर निरज कुमार ६ बलमा ८ रन बनाउँदै आउट भएका थिए । दोस्रो विकेटका लागि दिप कुमार र सुर्यांशु कोईरालाले ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए । सुर्यांशुले २० बलमा २३ रन बनाए । दिप कुमार ४१ बलमा १५ रन बनाउँदै आउट भए ।

 

त्यसपछिका खेलाडीहरु क्रिजमा जम्न सकेनन् । आठौं विकेटका लागि नरेन भट्ट र अशोक धामीका बीचमा ३४ बलमा ४५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । नरेन भट्टले ४३ बलमा २९ रन बनाए । ९१ रनमा ७ विकेट गुमाएको नेपालका लागि धामीको अर्धशतकले बलियो योगफलसम्म पुर्याउन मद्दत गर्यो ।

 

नवौ विकेटका लागि कृतिक कामतसँग मिलेरले धामीले ३१ बलमा ३९ रनको महत्वपूर्ण साझेदारी गरे । कामतले १७ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए । मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाईकाल र मुहम्मद अक्रमले समान २/२ तथा मोहम्मद फतुलले १ विकेट लिए ।

 

जितसँगै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । पराजित मलेसिया समूह उप विजेता बनेको छ ।नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । तीन टोली रहेको समूहबाट पहिलो खेलमा जित दर्तासँगै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो ।