सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

गोदावरी नगरपालिकाले ६ हजार ३ सय पशुलाई लगायो लम्पी स्किन रोग विरुद्ध खोप

प्रकाशित समय: शुक्रवार, ०५ : २४ बजे श्रावण १९ गते



गोदावरी नगरपालिकाले ६ हजार ३ सय पशुलाई लगायो लम्पी स्किन रोग विरुद्ध खोप

ललितपुर, गोदावरी नगरपालिकाले पशुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म ६ हजार २ सय ८९ भन्दा बढी पशुमा लम्पी स्किन विरुद्ध खोप लगाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । 

 

लम्पी भाइरसबाट हुने रोग भएकाले देखापरेको छोटो समयमा नै देशभर फैलिएको र गोदावरी नगरपालिकामा २०८० वैशाख महिनामा बाट रोग देखिन थालेको हो। रोग देखिन थालेको केहि दिनबाटै नगरपालिकाले रोग नियन्त्रण गर्न खोप लगाउने कार्य सुरु गरेको थियो।  

 

तत्कालै खोप लगाउने कार्यक्रम सुरु गरेको भएपनि खोप पर्याप्त पाउन कठिन परिस्थितिका बाबजुद कृषकहरूको पशुधन जोगाउन नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनको निरन्तर प्रयासबाट हालसम्म १ हजार ९ सय १३ किसानले लाभ लिएका छन्। खोप लगाउन बाँकी पशुहरुमा पनि खोप लगाउने कार्य तिव्रताका साथ भइरहेको नगरप्रमुख महर्जनले बताए। 

 

नगरपालिकाले भैंसी २२९६,थोरे ६५६,गाई २६३१ र कोरली ७०७ गरी हालसम्म ६,२८९ पशुलाई खोप लगाउने कार्य सकेको हो । 

 

यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने छालामा गोली गिर्खा देखिने, र्‍याल, सिँगान बग्ने, चिप्रा/कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निनेजस्ता लक्षण देखिन्छन् । यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाई भैँसीलाई असर गर्छ । 

 

पशुहरुलाई खोप लगाएपछि खोपले पूर्णरूपमा काम गर्न २१ दिन लाग्ने गोदावरी नगरपालिका पशुसेवा शाखाका शाखा प्रमुख ईश्वर प्रसाद घिमिरेले बताए। उनले खोप लगाएका केही पशुहरुमा रोग देखिएपनि हाल रोग नियन्त्रणमा आएको बताए। 

 

खोप लगाउनुपूर्व नै लम्पी स्किन रोगका लक्षण देखिएका केही पशुहरुमा उपचारको अथक प्रयास गर्दापनि पशुहरूको मृत्यु भएकोमा घिमिरेले दु:ख व्यक्त गरे। 

 

यस रोगको महामारी नियन्त्रणका लागि पशु सेवा शाखामा कार्यरत ६ जना पशु स्वास्थ्यकर्मी, निजि क्षेत्रमा कार्यरत १० जना र ७ जना प्राविधिक अध्ययनरत प्रशिक्षार्थी परिचालित रहेको गोदावरी नगरपालिकाले जनायो । 

 

यस क्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, भक्तपुरसँग समन्वय गरी रोग रोकथाम तथा नियन्त्रणका लागि १६०० डोज खोप प्राप्त गरिएको पशु सेवा शाखाले जनाएको छ ।