सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ श्रावण २०८१ / Tuesday, 16 July 2024

पाँचौ वीर गणेशमान सिंह राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता भाद्र २१ देखि ललितपुरमा हुने



प्रकाशित समय: आइतवार, ०५ : २९ बजे श्रावण २१ गते



पाँचौ वीर गणेशमान सिंह राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता भाद्र २१ देखि ललितपुरमा हुने

ललितपुर , गणेशमान सिंहको स्मृतिमा ‘पाँचौं वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता’ भाद्र महिनाको २१ गतेबाट सुरु हुने भएको छ। ललितपुर किक बक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता भाद्र २१ गते देखि २३ गतेसम्म हुने आयोजकले जनाएको छ। 

 

आयोजकले आज पत्रकार सम्मेलन गरी लौह पुरुष सर्वमान्य नेता स्व. गणेशमान सिंहको सम्झनामा प्रत्येक वर्ष नेपालकै ठूलो धनराशीको रुपमा रहेको खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता बारे जानकारी गराएको हो। 

 

पत्रकार सम्मेलनमा प्रतियोगिताको मुख्य प्रायोजक रहेको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले संघ तथा प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा नराखेको भएपनि गोदावरी नगरपालिकाले खेलकुदका समग्र क्षेत्रलाई प्राथमिकतामा राखेर खेलकुद र खेलाडीको सम्मानमा प्रत्येक वर्ष खेलकुद प्रतियोगिताहरु गर्दै आएको बताए। उनले खेलकुद प्रति राज्यले चासो नराख्दा खेलाडीहरु पलायन हुने अवस्था सिर्जना भएको बताए। 

 

बागमती प्रदेश माननीय मीनकृष्ण महर्जनले पहिलोपटक जावलाखेलबाट सुरुभएको स्व.गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिताको स्मरण गर्दै खेल क्षेत्रको विकासका लागि आफु सधै लागिपर्ने बताए। उनले राज्यले खेलकुद लाई जति प्रोत्सान गर्नुपर्ने हो त्यो नगरेकाले सरकारलाई चुनौती दिन ठूलो धनराशिको नगद पुरस्कारसहित प्रतियोगिता आयोजना गरिएको बताए। 

 

क्रममा प्रतियोगिताका संयोजक समेत रहेका ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले प्रतियोगिताका बारेमा जानकारी दिए। 

 

गोदावरी नगरपालिका वडा नं ११ चापागाउँ,प्याङ्गाउ खेल मैदान मा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ५०, ५५, ६०, ६५ केजी मुनी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी पुरुषमा ५०, ५५, ६०, ६५, ७० केजी मुनी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी हुने खेलाडीको तौल २०८० भाद्र १९ र २० गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लगनखेल डोजो ललितपुरमा गराइने छ । 

 

प्रतियोगिता विश्व किक बक्सिङको नियमअनुसार खेलाईनेछ। 

 

प्रतियोगितामा कराते,उसु, बक्सिङ,तेक्वान्दो,आई.टि.एफ.,फुल कन्ट्याक्ट कराते,मुआय थाई र विभागीय टिम नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाका खेलाडीले प्रतिस्पर्धा गर्ने ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले जानकारी दिए। 

 

खुल्ला प्रतियोगिता भएकाले देश भरीबाट खेलाडीहरु भागलिन आउने हुँदा उपत्यका बाहिरबाट आउने खेलाडीहरुलाई खाना र बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष महर्जनले जानकारी दिए। 

 

प्रतियोगितामा प्रथम हुने खेलाडीले ३० हजार द्वितीय हुने खेलाडीले १५ हजार र तेस्रो हुने दुई खेलाडीले ८/८ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन्।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीले २५/२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। 

 

खेलमा प्रथम हुने टिम च्याम्पियनले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोश्रो हुने टिम च्याम्पियनले ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। 

प्रतियोगितामा करिब ३०० खेलाडी सहभागी हुने र अनुमानित ५२ लाख ८१ हजार खर्च हुने अनुमान गरिएको छ।

भाद्र ७ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता विशेष कारण २१ गते सारिएको आयोजकले जनाएको छ।