hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

तरकारीमा क्षति पुगेको भन्दै काउली सडकमा फालेर विरोध


प्रकाशित समय: सोमवार, ०८ : २६ बजे माघ ७ गते



तरकारीमा क्षति पुगेको भन्दै काउली सडकमा फालेर विरोध

बनेपा,  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसानले इँटाभट्टा उद्योगबाट निस्केको धुवाँ धुलोले आफुले उत्पादन गरेको तरकारीमा क्षति पुगेको भन्दै आज धुलिखेलस्थित अरनिको र बिपी राजगर्माको दोबाटोमा काउली फालेर विरोध गरेका छन् ।

 

किसानले स्थानीय सरकार र प्रशासनले आफूहरुले इँटाभट्टाको विषयमा पहिलादेखि नै उठाउँदै आएको मागको सुनुवाइ नगरेको भन्दै काउली सडकमा फालेर विरोध गरेका हुन् । “हामीले उत्पादन गरेको तरकारी बजारमा बिक्री गर्न पाइरहेका छैनौँ ।” किसान केशवप्रसाद ढकालले भन्नुभयो, “बिक्री गर्न बजार पठाएको उत्पादित तरकारी बजारबाट फिर्ता आइरहेको छ ।” कृषि पेशालाई सुनिश्चित गर्न स्थानीय सरकार र प्रशासनको ध्यान जाओस् भनेर विरोधमा उत्रन बाध्य भएका कृष्णकहरुले बताएका छन् ।

 

उत्पादित काउली काठमाडौँस्थित कालिमाटी तरकारी बजारमा बिक्रीका लागि लगेकामा कालो भएको भन्दै फिर्ता आएपछि आन्दोलित हुनुपरेको किसानको भनाइ छ । आइतबार सो स्थानमा कोइला र माटो ढुवानी गरेका गाडीलाई रोक लगाएपछि इँटाभट्टा सञ्चालकले आफूहरुमाथि हातपात गरेको किसानले जनाएका छन् ।

 

आफूहरुमाथि हातपात गरेको भन्दै भट्टा सञ्चालकविरुद्ध किसानले आज जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । किसानले सुवर्णेश्वर इँटा उद्योगका सञ्चालक रामगोपाल श्रेष्ठ, हरिकुमार श्रेष्ठ, श्रवण न्यौपाने, सुशील श्रेष्ठ, राजाराम श्रेष्ठ र रुपक दनुवारलाई कारवाहीको माग गर्दै किटानी जोहरी दिएका हुन् ।

 

वातावरण प्रदूषण गरेका भट्टाको विरोध गर्दै माटो र कोइला बोकेका गाडीलाई रोक लगाएको भन्दै आफूमाथि कुटपिट गरेको स्थानीयवासी ढकनारायण पराजुलीले बताउनुभयो । घरबाहिर निस्कने बेलामा समेत धुवाँ धुलोका कारण माक्स लगाएर निस्कनुपर्ने र श्वास फेर्नसमेत मुस्किल हुने गरेको उहाँले जानकारी दिनुभयो ।

 

पाँचखाल–७ का वडाध्यक्ष पुष्कर ढकालले इँटा व्यवसायीले स्थानीय किसानलाई कुटपिट गरेको भनेर शान्तिसुरक्षाका लागि माग गरेपछि आफूले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी पाँचखाल र इलाका प्रहरी कार्यालयलगायतका कार्यालयमा शान्तिसुरक्षाका लागि जानकारी गराएको बताउनुभयो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितले दिएको जाहेरीका आधारमा दोषीलाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो ।