सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २० श्रावण २०७७ / Tuesday, 04 August 2020

ललितपुर महानगरपालिकाले ज्यापु समाजको वृद्धाश्रममा होल्डिङ सेन्टर राख्ने


प्रकाशित समय: सोमवार, १० : १६ बजे असार १५ गते



ललितपुर महानगरपालिकाले ज्यापु समाजको वृद्धाश्रममा होल्डिङ सेन्टर राख्ने

ललितपुर, ललितपुर महानगरपालिकाले ज्यापु समाजको वृद्धाश्रममा होल्डिङ सेन्टर राख्ने भएको छ । उक्त भवनमा होल्डिङ सेन्टर राख्नको लागि आइतरबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र ज्यापू समाजका अध्यक्ष तथा पूर्व सभासद् चन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

ज्यापू समाजको वृद्धाश्रमको क्षमता एक सय १० सिटको भएपनि हाललाई २६ बेड प्रयोग गरिनेछ । भर्खरै निर्माण सकिएको उक्त वृद्धाश्रम महानगरको वडा नं ४ स्थित बागडोलमा छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले ज्यापु समाजसँग महानगरपालिकाले अन्य धेरै क्षेत्रमा सहकार्य गर्दै आएको बताए ।

 

उनले भने, ‘समाजले होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्न प्रस्ताव गरेपछि प्रक्रिया अगाडि बढाएका हौं । ’ महानगरले संचालन गरेका क्वारेन्टिन र होल्डिङ सेन्टर व्यवस्थित भएको उनले दाबी गरे । ललितपुर महानगरपालिकाले यसअघि लगनखेलस्थित स्टाफ कलेजमा महानगरले होल्डिङ सेन्टर सुरु गरिसकेको छ ।

 

ललितपुर महानगरपालिकाले एन्फा कम्प्लेक्सभित्रको खेलाडीहरुको होस्टेलमा वैशाख २२ गतेबाट क्वारेन्टिन सुरु गरेको थियो । यो क्वारेन्टिनमा हाल नौ जना छन् । एन्फा क्वारेन्टिनमा अहिले बसिरहेकाहरु सबै विदेशबाट फर्किएका हुन् । हालसम्म यो क्वारेन्टिनबाट एक सय ६५ जनाले सेवा लिएका छन् । त्यसैले ललितपुर महानगरपालिकाले सुनाकोठीस्थित महिलाका लागि मात्रै क्वारेन्टिन संचालन गरेको छ ।

 

नेपाल युथ फाउण्डेसनको सहयोगमा ललितपुर महानगरपालिकाको वडा नं २६ स्थित पोषण पुनस्र्थापना गृहको दुई वटा भवनमा महिलाका लागि क्वारेन्टिन व्यवस्था गरिएको छ । यो क्वारेन्टिनबाट अहिले ९ जना महिला छन् । यो क्वारेन्टिनको क्षमता २७ बेडको रहेको छ । यो क्वारेन्टिन विदेशबाट आएका महिला र उहाँहरुको साथमा रहेका बालबालिकाको लागि हो । यसैगरी, यो क्वारेन्टिनमा बसेका महिलालाई आवश्यक पर्दा मनोसामाजिक परामर्शदाताको समेत व्यवस्था गरिएको छ ।

 

महानगरका प्रमुख चिरीबाबु महर्जनले महिलाको सुरक्षालाई ध्यान दिएर छुट्टै क्वारेन्टिन व्यवस्था गरेको बताए । उनले भने, ‘ महिला र पुरुष समान हुनुहुन्छ, तर पनि उहाँहरुको संवेदनशीलता विषय छ, त्यसैले छुट्ट् क्वारेन्टिन व्यवस्था गरेका हौं ।’ क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक दिनेश कार्कीले महानगरले संचालन गरेको क्वारेन्टिन र होल्डिङ सेन्टर व्यवस्थित र सफा भएको बताए । त्यहाँ बस्नेहरुलाई आवश्यक कुराको कमि हुन नदिएको बताए ।

 

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा महानगरपालिकाका उपप्रमुख गीता सत्याल र प्रवक्ता राजु महर्जनको समेत उपस्थिति थियो । प्रवक्ता महर्जनले कोभिडमा महानगरपालिकाले गरेका कामको बारेमा छोटकारीमा जानकारी गराएका थिए ।