सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २० श्रावण २०७७ / Tuesday, 04 August 2020

कालोपत्रे सुरु नगरेसम्म हरिसिद्धी-सातदोबाटो सडक अवरोध गर्छौं- स्थानीय जनता


प्रकाशित समय: मगलवार, ०६ : ४६ बजे असार २३ गते



कालोपत्रे सुरु नगरेसम्म हरिसिद्धी-सातदोबाटो सडक अवरोध गर्छौं- स्थानीय जनता

ललितपुर,सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै हरिसिद्धिका स्थानीयहरुले गोदावरी सातदोबाटो सडक अवरोध गरेका छन्। हरिसिद्धिका स्थानीय महिलाहरु भेला भई सोमबार बिहानैदेखि सडक बन्द गराएर हिलाम्मे सडकमा धान रोपाई गरे।

 

हरिसिद्धि सडकखण्ड खाल्डाखुल्डी भएपछि वडा नम्बर २८ ले सडकमा ग्रावेल बिछ्याएर खाल्डाखुल्डी पुगेको थियो। तर लगातार पानी परेपछि सडक हिलाम्मे हुन पुगेको थियो। सडक हिलाम्मे भएपछि स्थानिय आक्रोशित हुँदै सडकमा उत्रिएका थिए। यो समस्या हरिसिद्धिका बासिन्दाहरुले अहिले मात्र होइन समस्या भोगेको वर्षौं भइसक्यो, कति दिन सहेर बस्ने, हरिसिद्धिका स्थानीय दिलीप महर्जन बताउँछन्। उनका अनुसार यो समस्या असह्य भएपछि सडकमा उत्रनुपरेको बताउँछन्।

 

सातदोबाटो, हरिसिद्धी, ठैब, गोदावरी सडक निर्माणका सम्बन्धमा संघीय सांसद, प्रदेश सांसद, नगरप्रमुख, वडा अध्यक्ष, सम्बन्धित आयोजना प्रमुख लगायतका प्रमुख, प्रतिनिधी पटक पटक बैठक बसेर सडक निर्माण सुरु गर्ने भनिएपनि हालसम्म केही उपलब्धि भएको थिएन। टौखेलदेखि गोदावरी सम्मकाे केही अंश सडक निर्माण भएको भए पनि बाँकी भाग वर्षदेखि उस्तै रहेको छ।

 

उपत्यका सडक विस्तार आयोजनाले दुई वर्षअगाडि सडक विस्तार गरी कालोपत्रे गर्न टेन्डर निकालेको थियो। तर सरकारले सडकको दायाँबायाँ रहेका घर जग्गाको मुआब्जा नदिदा सडक विस्तारको काम रोकिएको थियो। हरिसिद्धिका स्थानीयहरुले सरकारले तत्काल मुआब्जा दिन नसके यथास्थितिमै सडक कालोपत्रे गर्नुपर्ने माग राखेका छन्।उनीहरुले तत्काल काम सुरु नगरेसम्म सडक अवरुद्ध रहने बताएका छन्।

 

ललितपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष राजेश महर्जनले जनताको यो मागलाई आफूले पनि साथ दिएको बताए। उनले संघीय, प्रदेश सरकारले जहिलेपनि आश्वासनमात्र दिने तर सडक निर्माणमा चासो नदिएकाले यो परिस्थिति सिर्जना भएको बताए। उनले अहिलेको जनताको जनदबाब निर्णायक हुने बताए।

 

भिडियाे

https://youtu.be/ZSHUadC_S50