सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २० श्रावण २०७७ / Tuesday, 04 August 2020

पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द


प्रकाशित समय: सोमवार, ०८ : ४७ बजे श्रावण ५ गते



पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द

चितवन, नारायणगढ–मुग्लिन सडकको चारकिलो, कालीखोलामा सोमबार बिहानै पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ । संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक बिहान ४ बजेतिर पहिरो गएर थुनिएको हो ।

 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो ठूलो भएकाले सोमबार दिनभरजसो नै सडक अवरुद्ध हुने सम्भावना रहेको बताए । उनले तत्कालका लागि यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।

 

यो सडकमा दैनिक १० हजारसम्म गाडी गुड्छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार बिहान ४ बजेतिर पहिरो गएको हो । अझै पनि झरी र पहिरो नथामिएकाले सडक खुलाउन सुरु भइसकेको छैन ।‘पहिरो हटाउने औजार–उपकरण तयारी अवस्थामा छन् । तर काम सुरु गर्न गाह्रो छ ।

 

बाटो खुल्नेबारे यसै भन्न सक्ने अवस्था रहेन,’ इन्जिनियर खनालले भने । मुग्लिनबाट चार किलो मिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा असार ३ गते पनि पहिरो खसेको थियो । त्यो बेला पहिरो हटाएर दुईतर्फी गाडी चलाउन ६३ घण्टा लागेको थियो ।

 

अहिलेको पहिरो त्योभन्दा पनि ठूलो रहेको सूचना अधिकारी खनालले बताए । नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ । कालीखोलामा पहिरो नियन्त्रणको काम अझै पूरा भएको छैन । यो समाचार कान्तिपुर दैनिक बाट लिइएको हो।