सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

एसईईको कपी परीक्षणको रकम बढाउन माग गर्दै ललितपुर शिक्षा एकाइमा ध्यानाकर्षण

प्रकाशित समय: सोमवार, ०६ : १९ बजे बैशाख १० गते



एसईईको कपी परीक्षणको रकम बढाउन माग गर्दै ललितपुर शिक्षा एकाइमा ध्यानाकर्षण

ललितपुर,ललितपुरमा माध्यमिक परीक्षा (एसईई)को कपी परीक्षण रोकिएको छ।एसईई को कपी परिक्षण गर्ने शिक्षक तथा परीक्षकहरूले कपी परीक्षणको रकम बढाउन माग गर्दै कपी परीक्षणको काम रोकेका हुन्। 

 

२०७२ सालदेखि हालसम्म कपी परीक्षणमा एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील शिक्षक संगठनले सो रकम बढाउनुपर्ने माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई ललितपुरमा ध्यानाकर्षण पत्र बुझाएका छन् । 

 

परीक्षा सञ्चालनकै क्रममा केन्द्राध्यक्ष, निरीक्षकको भत्ता समेत अत्यन्तै न्यून रहेको उनीहरूको ठहर छ। ध्यानाकर्षण पत्रमा समयमा नै कपी परीक्षण तथा समपरीक्षण गरी नतिजालाई जति सक्दो छिटो प्रकाशन गर्न माग समेत राखेका छन्। 

 

जिल्लाका पेशागत सङ्घ संगठनले पटकपटक यस सम्बन्धमा ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयनुकूल पारिश्रमिक वृद्धि नहुन्जेलसम्म कपी परीक्षण कार्य नहुने भन्दै कपी परीक्षण केन्द्रमा तालाबन्दी समेत गरिएको छ।