काठमाडौं,नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेश्रो चरणका खेल सम्पन्न भएका छन्। नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी योजना अनुसार काठमाडौंको होटल ले हिमालय, लाजिम्पाटमा दोश्रो दिनको प्रतिस्पर्धा जारी छ।
नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले गणेमान सिंह स्मृति चेस, नेशनल बी छनौट चेसमा झैं यस राउण्ड रोविन प्रतियोगितामा पनि आफ्नो जीवनको उत्कृष्ट लयलाई निरन्तरता दिदै तीन चरणको सबै खेलमा जित दर्ता गरेका छन्। युवा पुरुषोत्तमले पहिलो खेलमा दोलखाका राजीव कार्की, दोश्रो चरणमा काभ्रेका पूर्व नेपाल च्याम्पियन क्षितिज भण्डारी र तेस्रो चरणमा काठमाडौंका अर्का पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठमाथि जित निकाले छन्।
सिलवालले २११२ रेटिङ्गवाट खेल शुरु गरेका थिए भने हाल सम्म ३६ रेटिङ्ग वृद्धि गर्दै आफ्नो फिडे रेटिङ्ग २१४९ पुर्याएका छन्। अपराजित उनी ३ अंक सहित एकल अग्रता बनाउदै हंगेरीमा हुने ४५ औं ओलम्पियाडको लक्ष्य तर्फ छन्।
यसैगरी अर्का युवा खेलाडी एआईएम शुश्रुत दहाल पनि दुई जित र एक खेल बराबर खेल्दै अपराजित दोश्रो स्थानमा रहन सफल बनेका छन्। उनले पहिलो चरणमा नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसंग बराबरी गरेका थिए । २.५ अंक जोडेका दहालले दोश्रो चरणमा झापाका राजन सुवेदी र तेश्रो चरणमा सिएम मिलन लामा माथि जित हात पारेका छन्।
११ चरणको राउण्ड रविन खेलवाट नयाँ नेपाल च्याम्पियन छानीने दौडमा मिलन लामा, क्षितिज भण्डारी , झापाका राजन सुवेदी र प्रकाशचन्द्र नेपाल दुई २ अंकका साथ संयुक्त तेस्रो स्थानमा उभिएका छन्। काठमाडौंका प्रेमकृष्ण महर्जन, ललितपुरका सुरोज महर्जन, धनुषाका सुशील चौधरी र राजीव कार्कीले एक १ अंक बनाएका छन्।
प्रतियोगितामा खराब प्रदर्शन गरिरहेका वर्तमान नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल दोश्रो चरणमा राजीव कार्की र तेश्रो चरणको खेलमा क्षितिज भण्डारी संग पराजित भएका छन्। जैसवालको .५ अंक रहेको छ भने पूर्व च्याम्पियन केशब श्रेष्ठले खाता खोल्न सकेको छैन।
महिला तर्फ ४ खेलाडको अग्रता
लुम्बिनी इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा सञ्चालन भइरहेको ९ औं वुमन नेशनल च्याम्पियनसिपमा पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, काठमाडौंका रिया श्रेष्ठ, मोरङ्गका शान्ति धिमाल र कास्कीका पूजा भण्डारी ती ३ अंकका साथ संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्।
सिन्दिराले पर्साका शुशीला गुरुङ र भक्तपुरका सविना गुज:लाई निरास पारेका थिए भने रियाले भक्तपुरका प्रश्ना किबाजायो र काठमाडौंका बिनिता कपालीलाई पञ्छाए। अर्को तर्फ राम्रो खेल प्रदर्शन गरिरहेका शान्ति धिमालले श्रेषा दुवाल र शुशीलालाई हराए भने प्रश्ना र बिनिता माथि जित दर्ता गर्न सफल बने। झापाका पुनम प्रसाईं , झापाकै कृतिसरा अधिकारी दुई २ अंकमा रहि संयुक्त दोश्रो स्थानमा छन्। यस्तै बिनिता कपाली र शुशीला गुरुङको एक १ अंक रहेको छ ।
लुम्बिनी इभेण्ट म्यानेजमेण्टका अध्यक्ष सुबोधराज शेर्पालीले २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न कूल अनुमानित खर्च १३ लाख ५० हजार रहेको छ र उक्त खर्च व्यवस्थापनका लागि विभिन्न कर्पोरेट हाउस, खेलकुदका अभिभावकीय निकाय, स्थानीय तह र अन्य दाता एवं सहयोगी संघ संस्थाहरु संग समन्वय गरिएको जानकारी गराए।
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष तथा संयोजक दिपेन राईले २४ औं राष्ट्रिय प्रतियोगिताको खुल्ला तर्फ ३ जना र वुमन तर्फ ४ जना छनौट भई हंगेरीको बुढापेष्टमा सेप्टेम्बर १०-२३ सम्म हुने ४५ औं चेस ओलम्पियाडमा सहभागीता निश्चित गर्ने बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--