सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २० श्रावण २०७७ / Tuesday, 04 August 2020

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा ललितपुरका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया र छलफल


प्रकाशित समय: शुक्रवार, ०७ : ०६ बजे श्रावण ९ गते



राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा ललितपुरका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया र छलफल

ललितपुर,गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान लाई तीव्रता दिएको छ । कोरोना महामारीका कारण रोकिएको परिचयपत्र विवरण संकलनलाई तीव्रता दिन विभागले विभिन्न तहमा कार्यक्रम सुरु गरेको छ।

 

यसैक्रममा विभागले ललितपुरकास्थानीय तहका जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ। यसक्रममा विभागले आज गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुबिच परिचयपत्र वितरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा विभागका निर्देशक विष्णुहरि उपाध्यायले राष्ट्रिय परिचयपत्र अभियानका विषयमा प्रष्ट पारेका थिए।

 

ललितपुर जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्यक्रम २०७६ साल जेठ बाट सुरु गरिएको थियो। जिल्लामा हालसम्म २६०० नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराइसकेको जि.प्र.का. का नासु सुनिल लम्सालले जानकारी गराउनुभयो।

विवरण संकलन अभियानलाई स्वास्थ्य सतर्कताअपनाउँदै साउन १५ बाट तीव्र गतिमा अघि बढाइने भएको छ।अभियानलाई सफल बनाउन विभागले ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुसँग साउन ५ गते महानगरमा छलफल तथा अन्तरक्रिया गरेको थियो । विभागले चार चरणमा वडा कार्यालयका वडा सचिवहरूलाई अन्तरक्रिया तथा छलफलमा सहभागी गराइसकेको छ । राष्ट्रिय परिचय पत्र विवरण भर्नका लागि विभागले स्थानीय तहका वडा सचिवलाई रुजु अधिकारी तोकेको छ।

 

विभागले केही दिनभित्रै बाँकी रहेका ३ वटा गाउँपालिकाका जनप्रतिनिधिहरुकोसँग पनि छलफल र अन्तरक्रिया गर्ने जानकारी गराएको छ । जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसंग छलफल र अन्तरक्रिया सकिएपछि जिल्लामा रहेका ६ वटा स्थानीय तहका ७१ वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सुरु गरिने सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो।

 

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन,उपप्रमुख मुना अधिकारी, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ उपप्रमुख निर्मला थापा दुईवटै नगरपालिकाका वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो।कार्यक्रमको सभापतीत्व सहायक प्रमुख जिल्ला अधिकारी खिमराजभुषालले गर्नुभएको थियो भने कार्यक्रमको समायोजन जिल्ला प्रशासन कार्यालय ललितपुरले गरेको थियो ।