काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या बढाउनुपर्नेमा जोड दिएकी छन् । महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउकाे सहकार्यमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घीय महिला महासन्धि समिति (यूएन सिड कमिटी)को प्रतिवेदनमाथिको छलफलमा उनले आगामी दिनमा मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
महिला, महिलाबीचको प्रतिस्पर्धा गर्ने व्यवस्थाका लागि बहस चलिरहेकाले संविधानको मर्म परिवर्तन नहुने गरी यसलाई संशोधन गरिने उनले बताइन् । “विदेश भ्रमणको प्रतिनिधिमण्डलमा महिला अनिवार्य गर्ने निर्णय हालै मन्त्रिपरिषदबाट भएको छ, मुख्यसचिवमा पनि महिलालाई नै नियुक्त गरेका छौँ, सिड कमिटीमा पेश गर्ने मुद्दाका २१ बुँदे सूची सबैको प्रयासमा पूरा गर्ने तयारीमा छौँ”, मन्त्री राणाले भनिन् ।
कार्यक्रममा महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी)का कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले संयुक्त राष्ट्रसङ्घीय महिला महासन्धि समिति (यूएन सिड कमिटी) ले नेपालकाे साताैं आवधिक प्रतिवेदन उपर दिएकाे लिष्ट अफ इस्यूका प्रत्येक बुँदाहरुकाेबारेमा चर्चा गरेका थिए । साथै उनले साताैं आवधिक प्रतिवेदन उपर दिएकाे लिष्ट अफ इस्यूकाबारेमा नेपालले गर्न पर्ने कामहरुकाेबारेमा विस्तृत धारणा राखेका थिए ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहले मन्त्रिपरिषद्मा महिला आरक्षणको कानुनी व्यवस्था नहुँदा अहिले दुई जनामात्र महिलामन्त्री भएकाले यससम्बन्धी कानुन निर्माण गर्नु आवश्यक रहेको बताए । शिक्षामा महिलालाई अनिवार्यताको व्यवस्था गरिनुपर्नेमा पनि उनले जोड दिए ।
महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आवधिक प्रतिवेदन बुझाउन सहयोग पुगोस् भनी कार्यक्रम आयोजना गरिएको बताइन् । नवनियुक्त मुख्यसचिव लीलादेवी गडतौलाले अहिले मन्त्रिपरिषद्बाट महिलाका मुद्दा राम्रोसँग अघि बढ्न थालेको बताइन् ।
आफू वरिष्ठतामा आठौँ नं भए पनि मुख्यसचिव भएको उल्लेख गर्दै उनले यसअघि पनि लीलामणि पौड्याल आठौँ नम्बरबाटै मुख्यसचिव नियुक्त हुनुभएको स्मरण गरिन् । सचिव भएर मन्त्रालयको नेतृत्व गर्ने इच्छा पूरा नभए पनि सकारात्मक रुपमै लिइरहेका बेला मुख्यसचिव बन्ने अवसर प्राप्त भएको उनले जानकारी गराइन् । 'म जति दिन याे पदमा बस्छु महिलाकाे हितमा काम गर्छु' - उनले भनिन् । विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी उपस्थित कार्यक्रममा नेपालकाे साताैं आवधिक प्रतिवेदन उपरकाे लिष्ट अफ इस्यूकाबारेमा आगामी दिनमा गर्नुपर्ने कामहरुकाेबारेमा छलफलमा सहभागीहरुले सुझाएका थिए ।
सो अवसरमा मुख्यसचिव गडतौलालाई परराष्ट्रमन्त्री राणाले सम्मान गरेकी थिइन् । कार्यक्रममा तीन पटकसम्म सिड कमिटीमा नेपालका तर्फबाट निर्वाचित हुने महिला अभियानकर्मी बन्दना राणालाई पनि उनले सम्मान गरिन् । पछिल्लोपटक राणा सिडलाई अनुमोदन गर्ने एक सय ८९ देशमध्ये एक सय ४६ मत ल्याएर त्यस समितिमा निर्वाचित भएकी थिइन् । साे अवसरमा बन्दना राणाले संविधान संशाेधन गर्दा महिलामाथी हुने विभेदका कुराहरुदेखि लिएर महिलाकाे अर्थपूर्ण सहभागीताका विषय संशाेधन हुनेमा आफु विश्वस्त रहेकाे बताइन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ