सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

नेपाली कांग्रेस ललितपुरद्वारा स्वर्गीय अमात्यको १३औं पुण्य तिथिमा श्रद्धाञ्जली सभा

प्रकाशित समय: बिहिवार, ०६ : १६ बजे आश्विन १० गते



नेपाली कांग्रेस ललितपुरद्वारा स्वर्गीय अमात्यको १३औं पुण्य तिथिमा श्रद्धाञ्जली सभा

ललितपुर, नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा काङ्ग्रेस ललितपुरका पूर्व कोषाध्यक्ष एवं पूर्व महाधिवेशन प्रतिनिधि केदारबहादुर अमात्यको दुःखद निधन भएको १३औं पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

 

नेता अमात्यको ८६ वर्षको उमेरमा ललितपुरको मेडसिटी अस्पतालमा निधन भएको थियो।

 

पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व उपसभापति माननीय विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा स्वर्गीय अमात्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको तस्बिरमा पुष्प गुच्छाद्वारा सम्मान अर्पण गरिएको थियो।

कार्यक्रममा कांग्रेस नेता निधिले स्वर्गीय अमात्यले नेपाली कांग्रेस पार्टीमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै नेपाली कांग्रेस ललितपुरले एक होनहार नेता गुमाएकोमा दुःख व्यक्त गर्नुभयो।

 

गान्धी विचारधारा रहेका नेता निधिले नेपालको मात्रै नभई विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवर्द्धनका लागि गान्धी विचाराधारा सबैभन्दा उत्तम बाटो भएको तर्कसमेत गर्नुभयो । आलोचकहरू पनि आज विश्वभर गान्धी र गान्धी विचारबाट प्रभावित हुँदै गएको उहाँको भनाइ थियो । 

 

"अन्तर्राष्ट्रियस्तरमा पनि आज गान्धी विचारधाराको जरुरी बढेको बताउँदै शान्ति र अहिंसाको बाटो पैल्याएर गान्धी विचारधारालाई अँगाल्न सके मात्र पनि स्वर्गीय अमात्य जस्ता नेताहरूले सम्मान पाउने उहाँको भनाइ थियो। 

 

नेपाली कांग्रेस ललितपुरका पूर्व सभापति सागर शमशेर राणाले स्वर्गीय अमात्यको पार्टीमा मात्रै नभएर व्यावसायिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले स्वर्गीय अमात्य हस्तकला र मेटल उद्योगमा संस्थापक रहेर नेपाली हस्तकलालाई निर्यात गरेर विश्वसामु पुर्‍याउन गरेको योगदानको स्मरण गर्नुभयो।

 

नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनले स्वर्गीय अमात्यले पार्टी कार्यालय निर्माणमा संयोजकको भूमिका निर्वाह गरेर पार्टीलाई यो ठाउँसम्म ल्याउन गरेको कामको जति प्रशंसा गरेपनि कम हुने बताउनुभयो। 

 

जिल्ला सभापति जितेर कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभामा स्वर्गीय अमात्यका परिवार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत, केन्द्रीय सदस्य धना खतिवडा, पूर्व आमन्त्रित केन्द्रीय सदस्य कवेल बहादुर लामा,पूर्व जिल्ला सभापति रुद्र शर्मा, संस्थापक नेता प्रकाशनन्दन जोशी, बागमती प्रदेश सह महामन्त्री ऋषिराम घिमिरे, जिल्ला उपसभापति सुदर्शन घिमिरे, पूर्व जिल्ला सचिव रविन शर्मा, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, प्रदेश सभापति, नगर सभापति, पालिका सभापति, भातृ तथा सुभेच्छुक संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस ललितपुरका जिल्ला सचिव वशिष्ठकुमार अधिकारीले

गर्नुभएको थियो।