सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

पार्टीका असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गर्नेहरू अराजक हुन् ः मदन अमात्य

प्रकाशित समय: मगलवार, ०३ : २८ बजे पुष १६ गते



पार्टीका असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गर्नेहरू अराजक हुन् ः मदन अमात्य

रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले पार्टीभित्र रहेका असन्तुष्टिलाई सामाजिक सञ्जालमा व्यक्त गर्नु भएको अराजक काम भएको बताएका छन् । 


नेपाल प्रेस युनियन रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अमात्यले पार्टीका जिम्मेवार व्यक्तिले आन्तरिक कुरा सामाजिक सञ्जालमा छरपष्ट पार्न नमिल्ने बताए । ‘पार्टीभित्रका कुरा भित्रै छलफल गर्नुपर्छ, बाहिर विवादका कुरा गर्ने काम पार्टीको हित विपरीत हो । यो अनुशासनहीन काम हो, यसलाई स्विकार्न सकिँदैन’, उनले भने । 


सबैले आत्मसम्मानको लागि काम गर्ने बताउँदै अमात्यले सबैले सबैको आत्मसम्मानको कदर गर्नुपर्नेमा जोड दिए । ‘काम गर्ने शैलीमा विमति रहे छलफल गरेर समाधान खोज्नुपर्छ, तर अराजक भएर चल्ने अधिकार पार्टीमा कसैलाई हुँदैन’, उनले भने । 


नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको बताउँदै अमात्यले प्रजातन्त्र भित्र स्वतन्त्रता हुने भएपनि छाडातन्त्र नहुने स्पष्ट पारे । पार्टी भित्रका समस्या समाधान गर्दै प्रजातान्त्रिक हिसाबले संगठनलाई अझ बलियो र एक ढिक्का बनाउन कांग्रेसले एकसय दिने अभियान सुरु गरेको उनले जानकारी दिए । 


कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सभापति एवं संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले देश निर्माणको लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । 
तामाङले आफ्नो कार्यकालमा रामेछापमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने पनि बताए । पार्टीभित्रका राम्रा पक्षलाई प्रवर्धन गर्न र कमजोरी हटाउन अभियान सुरु भएको बताउँदै उनले यो अभियानले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे । 


पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काले सहर केन्द्रित भएका नेता कार्यकर्तालाई गाउँमा पुर्याउन कांग्रेसले अभियान सुरु गरेको बताए ।
नेताले मनोमानी ढङ्गले गरेको निर्णय अरूले बोकेर हिँड्न नसक्ने बताउँदै खड्काले सामूहिक निर्णयले पार्टी अघि बढ्ने स्पष्ट पारे । कांग्रेको यो अभियानले यही काम गर्ने खड्काले बताए ।