सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ११ आश्विन २०७७ / Sunday, 27 September 2020

चापागाउँमा सञ्चालित फुड बैंकलाई कांग्रेस नेता भण्डारीको हौसला र साथ


प्रकाशित समय: शुक्रवार, ०२ : १८ बजे भदौ २६ गते



चापागाउँमा सञ्चालित फुड बैंकलाई कांग्रेस नेता भण्डारीको हौसला र साथ

ललितपुर, श्रमिक, मजदूर, बिपन्न तथा असाहय परिवारका लागि चापागाउँका युवाहरूले सञ्चालन गर्दै आएको फुड बैंक बिहिबार देखि पुनः सञ्चालनमा ल्याएका छन् । बज्रबाराहीस्थित मन्दिर परिसरमा ‘हुनेले दिएर जाऊ नहुनेले लिएर जाऊ’ भन्ने अभियानका साथ सुरु भएको फुड बैंक सत्तारुढ दलका जनप्रतिनिधिको दबाबमा स्थानीय प्रशासनले बन्द गराएको थियो। जनप्रतिनिधिले आफै यो अभियान चलाउनु पर्नेमा उल्टै पदको दुरुपयोग गरेर प्रशासन लगाएर फुड बैंक सञ्चालन गर्न बन्द गरेपछि सर्वत्र त्यसको विरोध भएको थियो।

 

 

ललितपुरको चापागाउँबाट तरुण युवाहरुले पहिलो पटक फुडबैंक सञ्चालनमा ल्याएका थिए। अहिले ललितपुरका चापागाउँ,ठेचो, धापाखेल र लुभु लगायतका स्थानमा फुड बैंक सञ्चालनमा रहेका छन्। तरुण दलका युवाहरूको सहभागिता सञ्चालित फुड बैंकमा अधिकांशले चामल, दाल, तेल सहयोग गरेका छन्। कतिले नगद सहयोग गरेका छन्।

 

 

अभियानमा नेपाली कांग्रेसका सभापति मदनबहादुर अमात्य, पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाली काँग्रेस ललितपुरका विभिन्न पदमा रहेका नेता तथा कार्यकर्ता बाट सहयोग प्राप्त भइरहेको छ। त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष मिलन सिल्वाल, वडा नं ११ का अध्यक्ष नील ब. देशार लगायतका जनप्रतिनिधिले फुड बैंक सञ्चालनलाई साथ र सहयोग गरिरहेका छन्।

 

 

यो अभियनलाई स्वर्ण पदक विजेता खेलाडीहरुले समेत साथ दिदै आएका छन्। जापानमा बस्ने नेपालीहरुले फुड बैंक का लागि एक लाख २७ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन्। त्यस्तै फुड बैंकलाई ने.वि.संघ ललितपुरले खाद्यान्न र नेपाल महिला संघ गोदावरीले नगद ६०हजार उपलब्ध गराएको छ। लकडाउनको समयमा दैनिक मजदुरी गर्न नपाएका, बिपन्न स्थानीय सर्वसाधारण भोकै र पीडित बनेको अवस्था नियाल्दै स्थानीय युवाहरूले कांग्रेस नेता मीन कृष्ण महर्जनको समन्वयमा फुड बैंकको स्थापना गरिएको थियो।

 

छाक नै रोकिने अवस्था नआओस, विपन्न परिवारले राहत पाओस् भन्ने सामाजिक उद्देश्यले सञ्चालित फुड बैंकमा नेपाली कांग्रेस तरुण बिभागका प्रमुख समेत रहेका केन्द्रीय सदस्य शंकर भण्डारीले समेत साथ दिएका छन्। तरुण युवाहरूलाई हौसला दिन र सहयोग गर्न कांग्रेस नेता भण्डारी आज बज्रबाराहीमा आइपुगेका थिए। युवाहरु द्वारा संचालित फुड बैंकको नेता भण्डारीले खुलेर प्रशंसा गरेका छन।

 

बैंक स्थापनाले दैनिक ज्यालादारी गर्ने श्रमिक मजदुरहरूको लागि ठूलो सहयोग हुने आशा समाजमा गरिएको छ।  बिपन्न तथा असाहय लक्षित यो कार्यक्रम पछिल्लो समय लोकप्रिय बन्दै गएको छ।