सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ५ कार्तिक २०७७ / Wednesday, 21 October 2020

ललितपुरका महानगर प्रमुख सहित तीन वटै नगरप्रमुखलाई कोरोना संक्रमण


प्रकाशित समय: शनिवार, ०७ : १७ बजे आश्विन १० गते



ललितपुरका महानगर प्रमुख सहित तीन वटै नगरप्रमुखलाई कोरोना संक्रमण

ललितपुर,ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड —१९)को संक्रमण भएको छ । प्रमुखलाई संक्रमण पुष्टि भएको महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । महानगरप्रमुखको शुक्रवार कोरोना पुष्टि भएको थियो । प्रमुख महर्जन अहिले स्वास्थ्य सतर्कता अपनाउँदै बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा छन ।

 

प्रमुखद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘कोरानो रिपोर्ट पोजेटिभ आए पनि मेरो मनोबल उच्च छ । मेरो स्वास्थ्य अवस्था सामान्य छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईहरुको सेवा र महानगरको विकास गतिविधिमा जुट्ने विश्वास व्यक्त गर्न चाहन्छु । ’ आफूसँग सम्पर्कमा आएकालाई सचेत रहन आग्रह गर्दै पीसिआर परीक्षण गर्न प्रमुखले आग्रह गरेका छन् । कोरोना भाइरससँग लड्न विश्वका महारथी मुलुकहरुलाई समेत हम्मे हम्मे परिरहेको उल्लेख गर्दै त्यसको लागि एकमुष्ट प्रयास आवश्यक भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘तब मात्रै हामी कोरोनालाई परास्त गर्न सक्छौं । र , सामान्य अवस्थामा फर्कन सक्छौं ।

 

’ त्यस्तै महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ। नगर प्रमुख श्रेष्ठलाई भदौ २९ गते अचानक ज्वरो आएपछि पिसिआर परीक्षण गराउँदा श्रेष्ठ र धर्मपत्नी दुवै जनालाई कोभिड १९ पोजेटिभ देखिएको थियो। सुरुका दिनमा साह्रै पिडादायी भएपनि पछिल्लो समयमा अवस्था सामान्य बन्दै गएको प्रमुख श्रेष्ठले जानकारी दिए।उनी ग्वार्को स्थीत किष्ट अस्पतालमा आइसुलेसनमा बस्दै आएका छन्। संक्रमण जोखिम रहँदारहँदै पनि नगरभित्र कोरोना नियन्त्रण, रोकथाम र उपचारमा क्रियाशील रहनु पर्ने जिम्मेवारीका कारण आफु पनि संक्रमित हुनुपर्ने अबस्था आएको नगर प्रमुख श्रेष्ठले बताए।

 

त्यस्तै गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन र उनकी धर्मपत्नी गंगामाया महर्जनलाई पनि कोरोना संक्रमण देखिएको छ। नगर प्रमुख महर्जन आफूलाई कोरोना पोजेटिभ देखिएपछि उनी र उनकी धर्मपत्नीगोदावरी नगरपालिका वडा नम्बर १२ थेचो स्थित आफ्नै निवासमा आइसुलेसनमा बसेका छन्।नगरप्रमुख महर्जनलाई सुरुमा सामान्य ज्वरो आएको भएपनि अहिले ज्वरो नरहेको र सामान्य खोकी लाग्ने गरेको बताए। नगरप्रमुख महर्जन नगर भित्र कोरोना रोकथाम र नियन्त्रणका लागि अहोरात्र खटिएका थिए। नगरभित्र कोरोनाबाट संक्रमित भएका विरामीहरुलाई हौसला बढाउन नगरप्रमुख घर घरमा पुग्ने गरेका थिए।

 

नगरप्रमुख महर्जनले आफूसँगै नगरवासीको सेवामा समर्पित रहने र आफ्नो सम्पर्कमा रहेका सहयोगी मित्रहरूलाई पनि पिसिआर परीक्षण गर्न र सुरक्षित रहन आग्रह गरेका छन्। यस्तो विषम परिस्थितिमा जनताको सेवा नै आफ्नो कर्तव्य ठानेर नगरवासीको सेवामा लागेका नगरप्रमुखहरूको स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छुक, समर्थक र नगरवासीहरुले सोसियल मिडियामा नगर प्रमुखहरुको तस्बीर राखि "सिघ्र स्वास्थ्य लाभको कामना" लेखेका छन्।