सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ५ कार्तिक २०७७ / Wednesday, 21 October 2020

ललितपुर महानगरमा छड्के बजार अनुगमन सुरु


प्रकाशित समय: शुक्रवार, ०६ : १८ बजे आश्विन ३० गते



ललितपुर महानगरमा छड्के बजार अनुगमन सुरु

ललितपुर, ललितपुर महानगरपालिकाले छड्के बजार अनुगमनलाई तिव्रता दिएकाे छ। स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयाेग गरेर महानगरले निरन्तर बजार अनुगमन गरिरहेको हाे। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले ७५३ वटै स्थानीय सरकारका उपप्रमुखकाे नेतृत्वमा स्थानीय तहकाे बजार अनुगमन गर्ने व्यवस्था गरेको छ।

 

ललितपुर महानगर उपप्रमुख गीता सत्यालकाे नेतृत्वमा सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा सहितकाे टाेलीले छड्के अनुगमनलाई निरन्तरता दिइरहेकाे छ । साेही क्रममा शुक्रबार ललितपुर महानगरका विभिन्न फेन्सी, ओैषधि, खाद्य तथा दैनिक अत्यावश्यक उपभाेग्य बस्तुकाे विक्री तथा काराेवार गर्ने स्थलहरुकाे अनुगमन गरेकाे हाे ।

 

'काेराेना भाइरसकाे महामारीको यस विषम परिस्थितिमा बजार कसरी सञ्चालन भएको छ? भाैतिक दूरी कायम गरेर व्यवसाय सञ्चालन भएको छ कि छैन? गुणस्तरीय सामानहरु विक्री भएका छन् कि छैनन् ? भनेर हामीले निरन्तर छड्के बजार अनुगमन गरी रहेका छाैं। याे कार्य निरन्तर जारी रहन्छ।' उपप्रमुख सत्यालले भनिन्। ललितपुर महानगरका समान्यप्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा भन्छन्, 'ललितपुर महानगरले आफ्नाे महानगरभित्र उपभोक्ताहरुले उचित र सुलभ मुल्यमा गुणस्तरीय समाग्रीहरु बजारबाट प्राप्त गर्न सकेनसकेकाे विषयमा निरन्तर अनुगमन गरि रहेकाे छ ।

 

महानगरले निरन्तर बजार अनुगमन गरी मापदण्डअनुसारका उपभाेग्य सामाग्री विक्री नगर्ने, स्थानीय तहका साथै सम्बन्धित निकाय दर्ता नगरी व्यवसाय सञ्चालन नगर्नेलाई कार्वाही गरी कानूनी दायरामा ल्याउने कार्य गरी रहेकाे छ ।'

 

महानगरकाे अनुगमन टाेलीले कतिपय ठाउँमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, मापदण्ड पुरा नगरी दैनिक उपभाेग्य सामग्रीहरु विक्री वितरण गरेको, व्यवसायीले किनेको र वेचेकाे विवरण पारदर्शी तरिकाले नराखेको, भ्याट विल काटेर बेचेको तर भ्याट विल तिरेर नकिनेकाे समेत फेला पारेकाे जनाएको छ । यस्ता व्यवसायीहरुलाई तुरुन्तै प्रक्रिया पुर्‍याएर सही तरिकाले व्यवसाय सञ्चालन गर्ने निर्देशन समेत दिएको अनुगमन टाेलीका एक सदस्यले वताए ।