सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ५ कार्तिक २०७७ / Wednesday, 21 October 2020

चु ची फाउण्डेशनद्वारा ललितपुरका ४५०० घर धुरीहरूलाई खाद्यान्न सामग्री सहयोग


प्रकाशित समय: शनिवार, ०६ : २७ बजे कार्तिक १ गते



चु ची फाउण्डेशनद्वारा ललितपुरका ४५०० घर धुरीहरूलाई खाद्यान्न सामग्री सहयोग

ललितपुर,अन्तर्राष्ट्रिय बौद्ध संस्था चु ची फाउण्डेशनले ललितपुरका तीन स्थानीय तहका ४५०० घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण पिडित भएका परिवारका लागि सहयोग पु¥याउने उद्देश्य सहित चु ची फाउण्डेशनले तीन गाँउपालिकाका १० वटा वडा भित्रका घर धुरीहरूलाई खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

 

प्याकेजमा वितरण हुने खाद्यान्न (प्रति परिवार)२५ के जी चामल (जिरा मसिनो),१० के जी पिठो, ३ के जी दाल,२ के जी चना,२ लि. तेल,४ पिस साबुन,१ के जी नुन ती वडालाई उपलब्ध गराएको छ। वागमती गाउँपालिकाको वडा नं १ घुसेल,वडा नं २ माल्टा, वडा नं ६ आश्राङ,कोन्ज्योसोम गाउँपालिकाको वडा नं ३ चौघरेमा खाद्यान्न सहयोग उपलब्ध गराएको छ। त्यस्तै महांकाल गाउँपालिकाको ६ वटै वडामा फाउण्डेशनले खाद्यान्न उपलब्ध गराएको छ।

 

ललितपुरका स्थानीय तहका यी वडामा फाउण्डेशनले २०७२ सालको विनाशकारी भूकम्पपछि क्षति भएका विद्यालयहरूको अस्थायी संरचना निर्माण गर्न भोलेन्टियर खटाएर अस्थायी विद्यालय तयार पारेको थियो। पछि यसै क्षेत्रका पुर्व सांसद एवं पुर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाको पहलमा दक्षिण ललितपुरका नौं वटा वडाहरुमा फाउण्डेशनले स्थायी संरचना (पक्की भवन) तयार पारेको थियो।

 

कोभिड-१९ का कारण लामो समयसम्म लकडाउन र निषेधाज्ञा हुँदा पिडित भएका परिवारलाई खाद्यान्न सामग्री सहयोग गर्ने उद्देश्यले नेपाली कांग्रेसका जिल्ला सदस्य ऋषिदेव फुँयालको फाउण्डेशनसँग पहल र समन्वय गरेका थिए।जस अनुसार फाउण्डेशनले खाद्यान्न सामग्री उपलब्ध गराएको नेता फुँयालले बताए। नेता फुँयालले फाउण्डेशन द्वारा प्राप्त खाद्यान्न सामग्री वितरण हुने वडा वडामा पुर्याइसकेको बताए।

 

यस क्रममा फाउण्डेशनले हिजो वागमती गाउँपालिकाको वडा नं २ माल्टा र वडा नं ६ आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ। पुर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाको उपस्थितिमा माल्टाको ढुङ्गेपानीका ६७ घर धुरीहरूलाई तीन पाने भन्ज्याङमा खाद्यान्न वितरण गरिएको थियो।

 

त्यस्तै माल्टा वडा कार्यालय र बगुवामा वडाका ५९३ घर परिवारहरुलाई खाद्यान्न उपलब्ध गराएको थियो।उक्त कार्यक्रममा वागमती गाउँपालिकाका प्रमुख वीर बहादुर लोप्चन, उपप्रमुख रन्जना घिमिरे तिमल्सिना, नेपाली कांग्रेसका पुर्व क्षेत्रिय सह सचिव ज्ञान बहादुर लो, नेपाली कांग्रेसको तर्फबाट आश्राङको वडा अध्यक्षको उम्मेदवार नारायण भोम्जन, जिल्ला समन्वय समिति सदस्य जयराम तिमल्सिना,ने वि संघका जिल्ला सचिव दिपक घिमिरे समिरको सहभागिता रहेको थियो।

 

त्यस्तै आश्राङको विद्यालय प्रांगणमा ४४२ घर धुरीहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो। सो क्रममा माल्टाका वडा अध्यक्ष विजयकुमार लो ले यस्तो संक्रमणकालीन अवस्थामा खाद्यान्न सामग्री उपलब्ध गराएकोमा खुशी व्यक्त गरे ।

 

आज वागमती गाउँपालिकाको घुसेल र कोन्ज्योसोमको चौघरेमा खाद्यान्न सामग्री वितरण गरिने भएको छ। त्यस्तै महांकाल गाउँपालिका वडा नं १ र २ ,मानिखेल र बुखेलमा २०७७/०७/०२ गते, वडा नं ५ र ६,चन्दनपुर र ठुलादुर्लुङमा २०७७/०७/०३ गते र वडा नं ३ र ४ गोटिखेल र कालेश्वरमा २०७७/०७/०४ गते वितरण गरिने भएको छ।