सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १७ मंसिर २०७७ / Wednesday, 02 December 2020

१४ औ महाधिवेशनबाट शेखर कोइराला नेतृत्वमा आएनन् भने कांग्रेस प्रजापरिषद जस्तै हुन्छ!


प्रकाशित समय: शनिवार, ०७ : ०६ बजे कार्तिक ८ गते



१४ औ महाधिवेशनबाट शेखर कोइराला  नेतृत्वमा आएनन् भने कांग्रेस प्रजापरिषद जस्तै हुन्छ!

नेपाली कांग्रेस पार्टी महाधिवेशनको संघारमा पुगेको छ।तर तोकिएकै समयमा महाधिवेशन हुनेमा आशंका बढ्दै गएको छ।पार्टी सभापति शेरबहादुर देउवाको कार्यकाल फाल्गुन मै सकिसकेको थियो। पार्टी प्रतिपक्षमा रहेको अवस्थामा संगठन बलियो बनाउने सुवर्ण अवसर भएपनि त्यति अनुकुल समयलाई प्रतिकुल देखाएर केन्द्रिय समितिमा भएको बहुमत प्रयोग गरेर विधान अनुसार तर कार्यकर्ताको भावना विपरित १ वर्ष कार्यकाल थप्नुभो। अब प्रतिकुल समय भएको छ, महाधिवेशन गर्न गार्हो छ तर असम्भव भने छैन ।

 

विश्व भर प्राविधिमा यस्तो फड्को मारिसकेको अवस्थामा पार्टीको महाधिवेशन गर्न गाह्रो हुदैन। समयले साथ दिएन फेरि संवैधानिक अधिकारको प्रयोग गरेर ६ महिना थप्ने देउवाको रणनीति हुनसक्छ तर अब कार्यकर्ता त्यो स्विकार्ने पक्षमा छैनन्।

 

अब तोकिएको मिति फाल्गुन ७-१० सम्म महाधिवेशन भएन भने अब केवल समय दोषी हुदैन त्यसले प्रष्ट हुन्छ सभापति शेरबहादुर देउवा आफू र आफ्नो समूह हार्ने डरले महाधिवेशन गर्ने पक्षमा देखिनुहुन्न । उहाँ आफ्नो जित सुनिश्चित हुने अनुकुल समयको पर्खाइमा रहेको सजिलै बुझ्न सकिन्छ। त्यसकै लागि उहाँले जालझेल गरेर सबै प्रकारको हतकण्डा अपनाई रहनु भएको छ। उहाँले विभाग गठन देखि लिएर केन्द्रिय समितिमा बिना कुनै छलफल केन्द्रिय सदस्य मनोनित गर्नु भएको छ। उहाँले अरु पार्टीबाट आएका नेतालाई बिना कुनै छलफल हजारौ क्रियाशील दिनु भएको छ।

 

महाधिवेशनमा आफ्नो जित सुनिश्चित गर्नका लागि यतिसम्म गर्नुभएका देउवाले तै पनि जित्ने अवस्था देखिदैन। त्यसैले उहाँले अब आफू पछि हटेर आफ्नो परिवारको लिगेसी बचाउन आफ्नी पत्नि आर्जु राणालाई सभापतिको उम्मेदवार बनाएर ६०-४० को व्यवस्था कायम राख्ने रणनीति बनाई रहनु भएको छ।यदि आर्जु रानाको नाममा आफ्नै गुटमा सहमती भएन भने अन्तिम अवस्थामा आफ्ना सबभन्दा विश्वासपात्र बिमलेन्द्र निधिलाई सभापतिमा अगाडि सारेर आर्जुलाई महामन्त्रीको उम्मेदवार बनाउने उहाँको चाहना छ।

 

यता १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुनु भएका रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला,पुर्व महामन्त्री प्रकशमान सिंह, प्रभावशाली केन्द्रिय सदस्य डा. शेखर कोइराला सभापतिको लागि अगाडि बढेको देखिन्छ। जसमध्ये सबभन्दा बढी मेहनती र क्रियाशील डा. शेखर कोइराला नै देखिनुहुन्छ।

नेताहरु रामचन्द्र पौडेल,प्रकाश मान सिंह,अर्जुननरसिंह केसी,कृष्ण सिटौंला,रामशरण महतको साथ रहेको डा. शेखरलाई धनराज गुरुङ,डा. चन्द्र भण्डारी,गगन थापा,गुरुराज घिमिरे,बद्री पाण्डे,जीवन परियार,कमला पन्त,रामकृष्ण यादव,प्रदीप पौडेल जस्ता युवा नेताहरूको पनि साथ रहने देखिन्छ।

 

एकपटकका लागि मात्र सभापति बन्छु र पार्टीमा गुट उपगुट गर्दिन भन्ने शेखर कोइरालाको सार्वजनिक अभिव्यक्तिले पनि युवा नेताहरु उहाँलाई खुलेर साथ दिने देखिन्छ। देशभरी पुगेर सबै कार्यकर्ताको भावना बुझ्ने र कार्यकर्ताको घाउमा मलम लगाउन सक्ने नेताको परिचय बनाएका डा. शेखर कार्यकर्ता र जनतामा सबभन्दा बढी लोकप्रिय नेताका रूपमा देखिनुहुन्छ।

 

यस्तो अवस्थामा स्वयं सभापति देउवा वा उहाँ पक्षका नेताहरु सभापतिमा शेखर कोइरालालाई टकर दिन सकिदैन भन्ने विचार देउवा टिममै व्यापक रूपमा चलिरहेको छ। यदि आउदो १४ औं महाधिवेशनमा सभापतिमा डा.शेखर कोइराला र पदाधिकारीमा युवानेताहरु धनराज गुरुङ,डा.चन्द्र भण्डारी,गगन थापा आएनन् भने नेपाली कांग्रेसको हालत राजाले गठन गरेको प्रजा परिषद् भन्दा राम्रो हुन्छ भन्न सकिन्न।

 

लेखक- कमलेशकुमार पटेल

नेता - नेपाल विद्यार्थी संघ, रौतहट