सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, २ माघ २०८२ / Thursday, 15 January 2026

गोदावरीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर संस्थागतसरह : नगरप्रमुख महर्जन

प्रकाशित समय: बिहिवार, ०८ : ०७ बजे पुष १७ गते



गोदावरीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर संस्थागतसरह : नगरप्रमुख महर्जन

ललितपुर,गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयसरह शैक्षिक गुणस्तर कायम राख्न सफल भएको दाबी गरेका छन्।

 

गोदावरी नगरपालिकाद्वारा आयोजित विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले सामुदायिक विद्यालयको शैक्षिक उपलब्धिमा उल्लेखनीय सुधार आएको बताए। उनले भने, “सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको छ, परीक्षामा ल्याइने जिपिए पनि वृद्धि भएको छ। यो नगरपालिकाले शिक्षा क्षेत्रलाई दिएको प्राथमिकताको परिणाम हो।”

 

नगरप्रमुख महर्जनले शिक्षा क्षेत्रको विकासका लागि नीति तथा नियम निर्माण गरी योजनाबद्ध कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको प्रभाव कार्यान्वयनमा देखिएको स्पष्ट पारे। पछिल्लो समयमा विद्यालयहरू किताब र सैद्धान्तिक ज्ञानमै केन्द्रित हुन थालेकोप्रति ध्यानाकर्षण गराउँदै उनले संस्कारसहितको व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।

 

कार्यक्रममा बोल्दै नगर उपप्रमुख मुना अधिकारीले पनि गोदावरी नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकै कारण शैक्षिक उपलब्धि हासिल भएको बताइन्। उनले विद्यालय र विद्यार्थी दुवैले संस्कारयुक्त शिक्षालाई महत्व दिनुपर्नेमा जोड दिइन्।

 

यसैगरी, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले गुरुको महिमाको चर्चा गर्दै मानवता र संस्कारयुक्त नागरिक उत्पादनमा विद्यालयको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।

 

सामाजिक विकास समितिका संयोजक तथा गोदावरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शेखर न्यौपानेले सीमित बजेटका बाबजुद पनि नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गरे। 

उनले भने, “नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राख्यौँ, कार्यान्वयनमा जोड दियौँ, त्यसैले शिक्षा क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सफल भएका हौँ।” शैक्षिक उपलब्धि हासिल गर्न भौतिक पूर्वाधारको महत्व रहेको उल्लेख गर्दै उनले नगरपालिकाले विद्यालय पूर्वाधार निर्माणमा समेत विशेष ध्यान दिएको बताए।

 

कार्यक्रममा BLE, SEE तथा SLC परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।