ललितपुर,मालिका बिल्डर्स प्रालिले निर्माण सम्पन्न गरेको महाङ्काल गाउँपालिकाको पालिका अस्पताल भवन आज एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीलाई हस्तान्तरण गरिएको छ । भवन हस्तान्तरणसँगै अध्यक्ष केसीले सोही अवसरमा अस्पताल भवनको उद्घाटन गर्नुभयो ।
१० शैय्या क्षमताको तीन तले सुविधा सम्पन्न अस्पताल भवन संघीय सरकारको लगानीमा निर्माण गरिएको हो । संघीय सरकारले अस्पताल निर्माणका लागि १० करोड ८६ लाख रुपैयाँमा टेन्डर आह्वान गरेकामा मालिका बिल्डर्स प्रालिले ८ करोड ८१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । निर्माण कम्पनीले २०८० कात्तिक १५ गते सम्झौता गरी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । निर्धारित समयमै २०८२ कात्तिक ९ गते भवन निर्माण सम्पन्न गरिएको निर्माण कम्पनीका प्रोप्राइटर टंकप्रसाद दुलालले जानकारी दिनुभयो ।
उनका अनुसार भवन निर्माण सम्पन्न हुँदा कुल ९ करोड ५६ लाख रुपैयाँ खर्च भएको छ ।
भवन उद्घाटनसँगै अस्पतालबाट आकस्मिक २४ घण्टा सेवा, आधारभूत स्वास्थ्य सेवा, बहिरङ्ग सेवा (ओपिडी), परिवार नियोजन, खोप, पोषण, मातृ तथा नवशिशु सेवा तथा माइनर अपरेसनजस्ता सेवा सञ्चालन गर्न सहज हुने जनाइएको छ ।
यद्यपि सुविधा सम्पन्न भवन भए पनि दरबन्दी अभाव, एक्स–रे तथा भिडियो एक्स–रेजस्ता अत्याधुनिक उपकरणको कमी र अस्पतालसम्म पुग्ने सडक सञ्जालको अवस्था सुधार भएमा सेवा अझ प्रभावकारी हुने अस्पतालका चिकित्सक चन्द्रभूषण चौधरीले बताउनुभयो । हाल अस्पतालमा एक जना चिकित्सक, तीन जना एचए/सीएमए, एक/एक जना फार्मेसिस्ट, एक्स–रे टेक्निसियन र ल्याब टेक्निसियन, तीन जना नर्स/अनमी तथा दुई जना कार्यालय सहायक मात्र कार्यरत रहेको उहाँको भनाइ छ । कम्तीमा दुई जना विशेषज्ञ चिकित्सक आवश्यक रहेकोसमेत उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुन्दरमान थिङले अस्पताललाई गुणस्तरीय बनाउन व्यवस्थापकीय पक्ष मात्र नभई राजनीतिक दलहरू पनि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । राज्यको सम्पत्ति संरक्षण गर्न सके मात्र बजेट खेर नजाने र अस्पताललाई थप सुदृढ गर्दै सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।
गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोलेले नयाँ अस्पताल भवन सञ्चालनमा आएसँगै स्थानीयवासीलाई आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा गाउँमै प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिका अध्यक्ष गणेश केसीले भवन राम्रो भए पनि व्यवस्थापन र सञ्चालनमा चुनौती रहेको स्वीकार गर्नुभयो । आयस्रोत भएका पालिकामा अस्पताल सञ्चालन सहज भए पनि बजेट अभावका कारण चुनौती थपिएको उहाँले बताउनुभयो । सार्वजनिक सम्पत्तिको संरक्षण जनप्रतिनिधिको प्रमुख दायित्व रहेको उल्लेख गर्दै सकेसम्म अस्पताललाई ट्रमा सेन्टरका रूपमा सञ्चालन गर्ने प्रयास गरिने उहाँको भनाइ थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर २ का वडाध्यक्ष जोनीकुमार न्यासुरले अस्पताल निर्माण सम्पन्न गर्न सहयोग पुर्याउने निर्माण व्यवसायी, राजनीतिक दल तथा सरोकारवालालाई धन्यवाद दिँदै अस्पताल व्यवस्थापन र सञ्चालनमा कुनै कमजोरी देखिए सुझाव दिन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष रामचन्द्र दाहाल, पूर्व उपाध्यक्ष कमला तामाङ तथा वडा नम्बर १, ३ र ५ का वडाध्यक्षहरू रामप्रसाद घिमिरे, मनोजकुमार पराजुली, भूमिनन्द घिमिरेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी र पूर्व स्वास्थ्यकर्मीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ