सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १७ मंसिर २०७७ / Wednesday, 02 December 2020

पशुपालनमा आकर्षित हुँदै दक्षिण ललितपुरका किसान


प्रकाशित समय: शनिवार, ०६ : ४८ बजे कार्तिक २२ गते



पशुपालनमा आकर्षित हुँदै दक्षिण ललितपुरका किसान

ललितपुर,दक्षिण ललितपुरका किसानको मुख्य पेशा कृषि र पशुपालन नै हो। परापूर्वकालदेखि नै यो पेशालाई घर गृहस्थीको गुजाराको मुख्य माध्यम बनाएर कृषि र पशुपालन गर्दै आएका छन् यहाँका किसानहरुले। तर पछिल्लो समय गुजाराको माध्यम भन्दा पनि व्यवसायिक रुपमा यहाँका किसानहरु कृषि र पशु पालनमा आकर्षित भएका छन्।

 

ललितपुरको महाङ्काल गाउँपालिका वडा नम्बर ५ का स्थानीय विवेक दाहालले नमन कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यवसायिक रुपमा गाईपालन शुरु गरेका छन्। महाङ्काल गाउँपालिका वडा नम्बर ५ चन्दनपुरका कर्मचारी समेत रहेका दाहालले व्यावसायिक रुपमा गाईपालन सुरु गरेको एक वर्ष पुग्न लाग्यो। उनले प्रति गाईको मुल्य ४० हजारदेखि एक लाख रुपैयाँसम्म तिरेर गाई खरिद गरी गाईपालन शुरु गरेका थिए।

 

जर्सी र होलस्टेन क्रस जातका गाई खरिद गरी व्यावसाय सुरु गरेका दाहालको फर्ममा अहिले १४ वटा गाई छन्। ती गाईबाट दैनिक १४० लिटर दुध उत्पादन हुदै आएको छ। अहिले प्रति लिटर दुधको मूल्य ४० रुपैया पर्छ। मासिक रुपमा १५० हजार आम्दानी गर्दै आएका दाहालको ढुटो पराल र अन्य खर्च कटाएर मासिक ६० हजार आम्दानी बचत गर्दै आएका छन्। उनले स्थानीय सहकारीमार्फत पशुबिमा समेत गराएका छन्।

 

स्थानीय स्रोत र साधनको प्रयोग गर्न पाइने, घरमै बसेर रोजगार हुन पाइने,आफ्नै पाखा पखेराको घाँसपात प्रयोग गर्न पाइने भएका कारण गाउँमै गाईपालन सुरु गरेको दहाल बताउँछन्। उनले अहिले १ स्थानीयलाई रोजगार समेत दिएका छन्। सनराइज बैंक बाट १० लाख रुपैया ऋण लिएर व्यवसाय सुरु गरेका दाहालले हालसम्म स्थानीय, प्रदेश केन्द्रिय सरकार कहीँकतैबाट कुनै प्रकारको अनुदान लिएका छैनन्।थप ६ वटा गाई खरिद गरेर २० वटा पुर्याउने लक्ष्य लिएका दाहालले सरकारको अनुदान प्राप्त भए ५० वटासम्म गाई पालन गर्न सकिने बताए।

 

दक्षिण ललितपुरकै नमुनाका रुपमा रहेको उक्त गाइ फर्म हेर्न अहिले उपत्यका र विभिन्न जिल्लाबाट कृषकहरु त्यहाँ पुग्ने गरेको दाहाल बताउँछन्।

 

त्यस्तै सोही वडाका ३ जना स्थानीय मिलेर महांकाल गाई फर्म दर्ता गरी नयाँ व्यवसाय सुरु गरेका छन्। स्थानीय भरत दाहाल,विजयकुमार दहाल र सन्तोष तिमल्सिनाले सयुक्त रुपमा लगानी गरी गाईपालन व्यवसाय सुरु गरेका हुन्। उनीहरूको गाई फार्ममा अहिले १३ वटा गाई रहेका छन्। बृहत रुपमा गाईपालन सुरु गर्ने लक्ष्य लिई काम सुरु गरेका उनीहरुले अहिले दैनिक ८० लिटर दूध बिक्री गर्दै आएका छन्।

 

वैदेशिक रोजगारबाट फर्किएका र गाउँमै बेरोजगार भएका युवाहरु पनि पशुपालनमा आकर्षित हुन थालेका छन्। महाङ्काल गाउँपालिका वडा नम्बर ५ मा मात्रै कृषि तथा पशुपालन व्यवसाय सुरु गर्न १५ वटाभन्दा बढी कृषि तथा पशुपालन फर्म दर्ता भइसकेको वडा अध्यक्ष खोमप्रसाद दाहालले बताए। स्थानीय दूध संकलक शरण बञ्जाराका अनुसार दैनिक २८०० लि. दुध संकलन गरी उपत्यका बिक्री भइरहेको बताउँछन्।

 

दूध बिक्रीबाट गाउँमा मासिक रुपमा करिब रु ३५ लाख रुपैयाँ भित्रिने गरेको स्थानिय कृषक कृष्ण केसी बताउँछन्।महाङ्काल गाउँपालिका वडा नम्बर ५ मा मात्रै दुई सयभन्दा बढी घरधुरीले भैसी तथा गाईपालन गर्दै आएका छन्।

महाङ्काल गाउँपालिका मात्रै होइन कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिका किसानहरु पनि पशुपालनमा आकर्षित हुन थालेका छन्। सन्देश टाइप गर्नुहोस्...