सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १७ मंसिर २०७७ / Wednesday, 02 December 2020

ललितपुर महानगरको महालक्ष्मी मन्दिरमा बगैंचा निर्माण


प्रकाशित समय: आइतवार, ०१ : ५२ बजे कार्तिक ३० गते



ललितपुर महानगरको महालक्ष्मी मन्दिरमा बगैंचा निर्माण

ललितपुर, महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मन्दिर परिसरमा बगैंचा निर्माण गरेको छ । 

ललितपुर महानगरपालिकाको वडा नं ५ स्थित महालक्ष्मीस्थानमा निर्माण गरिएको महालक्ष्मी स्वस्तिक बगैंचा शनिवार एक कार्यक्रमबीच बैंकले महानगरलाई हस्तान्तरण ग¥यो ।  

 

 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महत्वपूर्ण र प्रसिद्ध ठाउँमा बगैंचा निर्माण गरेकोमा बैंकलाई धन्यवाद दिए । महालक्ष्मीमन्दिर ललितपुरका महत्वपूर्ण र प्रसिद्ध शक्तिपीठहरु मध्ये एक भएको बताउँदै यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको उनले बताए । 

 

महानगरपालिकाले ग्रिन र ब्ल्यू प्रोजेक्ट अर्थात हरियाली र पानीजन्य योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे । त्यो मध्ये पार्क र बगैंचा निर्माण एक भएको उनले बताए । 

 

बैंक संचालक समिति अध्यक्ष राजेश उपाध्यायले शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको सुझाव अनुसार यहाँ बगैंचा निर्माण गरिएको बताए । सत्यमोहन जोशीलाई सम्मान गर्न बैंकले आयोजना गरेको कार्यक्रममा जोशीले बगैंचा निर्माणको सुझाव दिएका थिए । 

 

उपाध्यायले भने, ‘जोशीज्यूले तपाईहरुको बैंकसँग नाम मिल्ने शक्तिपिठमा बगैंचा बनाउनुस् भन्नुभयो, हामीलाई उहाँको सुझाव एकदमै राम्रो लाग्यो , त्यसपछि काम थाल्यौं । ’ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर बगैंचा निर्माण गरेको उनले बताए । पाटन कलात्मक सहर भएको बताउँदै उनले यहाँको संस्कृति र सम्पदा संरक्षणका लागि बैंकको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

 

ललितपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले महानगरपालिकाको हरियाली संरक्षणको योजनामा सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गरेर थुप्रै काम गर्न सकिने उनले स्पष्ट पारे । 

 

 

महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष आत्माराम अधिकारीेले हरियाली संरक्षणका लागि गरेको काम पवित्र भएको बताए । कार्यक्रममा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्माले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर परिसरमा बगैंचा निर्माण गर्न पाउँदा खुशी लागेको बताए ।

 

 कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल, सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीको उपस्थिति थियो ।