सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १७ मंसिर २०७७ / Wednesday, 02 December 2020

ललितपुरका तीन जना पत्रकार सम्मानित


प्रकाशित समय: आइतवार, ०७ : १२ बजे कार्तिक ३० गते



ललितपुरका तीन जना पत्रकार सम्मानित

ललितपुर ,बन्द रहेकाे पायः (खड्ग) जात्रा र नव दुर्गा ( गःथुँ प्यांख ) नाच सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने तीन जना पत्रकारलाई सम्मान गरिएकाे छ ।  

 

यल सांस्कृतिक पर्व संरक्षण समितिले आईतबार एक समाराेहकाे आयाेजना गरी साे सम्मान गरेकाे हाे । सम्मानित हुने पत्रकारहरूमा क्रमशः सुनील महर्जन, प्रशान्त माली र राजेश बज्राचार्य रहनुभएकाे छ । महर्जन नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव, माली पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका उपाध्यक्ष र बज्राचार्य शाखाका पूर्व सचिव हुनुहुन्छ ।

 

 

साे समाराेह पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा आयाेजना गरिएकाे थियाे । साे अवसरमा ललितपुर उद्याेग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका समितिका संयाेजक कृष्णलाल महर्जनले खाढा ओढाई वाग्मती प्रदेशका सासंद् शाेभा शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पत्रकारहरूलाई सम्मान पत्र प्रदान गर्नुभयाे ।

 

दशै अवसरमा पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः जात्रा र गथु प्याँख पुनः सञ्चालनका लागि सञ्चार क्षेत्रबाट उल्लेखनीय भूमिका निर्वाह गरेकाेलाई कदर गर्दे साे सम्मान गरिएकाे समितिका संयाेजक कृष्णलाल महर्जनले बताउनुभयाे । साे अवसरमा संस्थागत रूपमा नेवाः पत्रकार राष्ट्रिय दबूलाई पनि सम्मान गरिएकाे थियाे ।

 

लिच्छिविकालीन संस्कृति, धार्मिक र एेतिहासिक महत्वकाे पायः जात्रा २३ वर्षदेखि राेकिएकाे थियाे । त्यसैगरी ठेचाेकाे नवदुर्गा नाच विजया दशमीकाे दिन पट्काेमा ४० वर्षदेखि र पाटन दरबार क्षेत्रमा पाँच वर्षदेखि राेकिएकाे थियाे । 

 

 

नाच पुनः सञ्चालन गर्न सञ्चार क्षेत्र मार्फत निरन्तर पैरवीसंगै तीन जना पत्रकारले शुरूमा संयाेजनकारी भूमिका निर्वाह गरेकाे थियाे । तीन जना पत्रकारकाे अगुवाई र नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखाकाे अायाेजनामा २०७३ असाेज १३ गते पहिलाे पटक जिल्लाका प्रशासन, स्थानीय निकाय, गुठी संस्थान, गुठीयारहरूकाे बृहत् गाेष्ठी आयाेजना गरेकाे थियाे । 

 

नाच पुनः सञ्चालनका क्रममा गाेष्ठीमा उठाईएकाे माग, समस्या समाधान, सराेकारवाला र गुठीयारबीच समन्वय, स्थानीय निकायमा निरन्तर पैरवीका लागि तत्कालीन वाणिज्य संघकाे अध्यक्ष सविन श्रेष्ठ संयाेजन रहने गरी यल सांस्कृतिक पर्व संरक्षण समिति गठन गरेकाे थियाे ।  

 

समितिले २०७३ चैत्र महिनामा जिल्ला विकास समितिकाे सहयाेगमा बृहत सराेकार भेला आयाेजना गरी नाच संञ्चालनकाे लागि सराेकारवालासंग संवाद गर्ने भेला, डेलिगेशन र ज्ञापनपत्र बुझाउने नीष्कर्ष निकालेकाे थियाे ।

 

 यही क्रममा गुठीयार, सञ्चार क्षेत्र, नेवाःपत्रकार राष्ट्रिय दबू, उद्मी व्यवसायी र महानगरपालिका लगायत सबैकाे पहलकाे परिणति २०७४ मा पाटन दरबार क्षेत्रमा नवदुर्गा नाच पुन संञ्चालन गरेकाे संघका महासचिव मनाेजबहादुर न्याछ्याेले समाराेहमा धारणा राख्नुभयाे ।

 

 त्यसैगरी संघकाे अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएपछि २०७५ सालकाे दशैताकादेखि पायः जात्रा संञ्चालन भएकाे थियाे । साे अवसरमा पत्रकार प्रशान्त मालीले लेख्नुभएकाे ´खड्ग पायः जात्रा` नामक पुस्तक लाेकार्पण गरिएकाे थियाे । साे पुस्तक नाचकाे धार्मिक, सांस्कृतिक, ऐतिहासिक पक्ष र नाच संञ्चालनका लागि भएका याेजनाबद्ध भूमिका र प्रयासकाे दस्तावेज रहेकाे लेखक मालीले बताउनुभयाे ।

 

 

समाराेहमा साे अवसरमा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनले संस्कृति पर्व संरक्षणका लागि सबै एकजुट भएर अघि बढेकाे हुनाले बन्द भएकाे अमूर्त संस्कृति सञ्चालन सम्भव भएकाे बताउनुभयाे ।

 

 

साे अवसरमा विभिन्न गुठीका गुठीयार, बाजंखलः जातीय समाजका प्रतिनिधि र उद्मी व्यवसायी अजरमान जाेशी लगायत लाई सम्मान गरिएकाे थियाे । 

महानगरपालिका प्रमुख महर्जन, संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जाेशीले संस्कृति संरक्षणका लागि सबैकाे सामूहिक प्रयास प्रभावकारी रहने नाच पुनः संञ्चालनले प्रमाणित गरेकाे धारणा राख्नुभयाे ।