सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ८ जेठ २०७६ / Wednesday, 22 May 2019

दोलखा र सिन्धुपाल्चोकमा निजी आवास पुनःनिर्माण सम्पन्न


प्रकाशित समय: मगलवार, ०७ : ५३ बजे फाल्गुन २१ गते



 दोलखा र सिन्धुपाल्चोकमा निजी आवास पुनःनिर्माण सम्पन्न

काठमाडौँ,देशका भूकम्प अति प्रभावित १४ जिल्लामध्ये दोलखा र सिन्धुपाल्चोकमा निजी आवास पुनःनिर्माण सम्पन्न गरिएका छन् ।

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकमा ५९ हजार ५९७ र दोलखामा ४४ हजार ५३३ घर पुनःनिर्माण भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकमा ८७ हजार ८२८ कूल लाभग्राही सङ्ख्या छ । दोलखामा ६९ हजार ६०८ लाभग्राही छन् ।

 

त्यस्तै कम प्रभावित १७ जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी पाँच हजार ६८६ घरको निर्माण सम्पन्न भइसकेको छ भने दोस्रो स्थानमा सोलुखुम्बुमा चार हजार ७६२ घरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । लाभग्राही स्वयं पुनःनिर्माणमा जुटेकाले बढी घरको निर्माण सम्पन्न भएको प्राधिकारणका सुचना अधिकारी मनोहर घिमिरेले बताउनुभयो ।

 

“प्राधिकरणले पहिलो किस्ता लिनका लागि असार मसान्तसम्मको समयसीमा निर्धारण गरेको छ भने दोस्रो र तेस्रो किस्ता लिनका लागि कुनै समयसीमा तोकेको छैन”, घिमिरेले भन्नुभयो । राज्य स्थानीय संरचनामा गइसकेपछि पुनःनिर्माणको कामले थप गति लिएको उहाँले बताउनुभयो ।

 

प्राधिकरणको तथ्याङ्कअनुसार अति प्रभावित जिल्लामा हालसम्म तीन लाख ५४ हजार ८७४ निजी घर पुनःनिर्माण सम्पन्न भइसकेका छन् भने कूल लाभग्राही सङ्ख्या सात लाख दुई हजार ९८ छन् । त्यस्तै कम प्रभावित जिल्लामा कूल लाभग्राही सङ्ख्या एक लाख २७३ छन् भने १७ हजार ६८६ घरको पुनःनिर्माण सम्पन्न भइसकेको छ ।