सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १३ माघ २०७७ / Tuesday, 26 January 2021

नगर प्रमुख महर्जनले गरे चापागाउँ छम्पी जोड्ने पक्की पुलको शिलान्यास, असारभित्र सम्पन्न गर्ने लक्ष्य


प्रकाशित समय: बिहिवार, ०९ : ३३ बजे मंसिर १८ गते



नगर प्रमुख महर्जनले गरे चापागाउँ छम्पी जोड्ने पक्की पुलको शिलान्यास, असारभित्र सम्पन्न गर्ने लक्ष्य

ललितपुर,गोदावरी नगरपालिकाले चाँपागाउँ - कुसुलेचौर - छम्पी जोड्ने सडक अन्तर्गत नख्खु खोलामा आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । यो पुल निर्माण कार्य  नगरपालिकाले आफ्नै खर्चमा रु ३ करोड १५ लाख ९४ हजार ४६७ मा सम्पन्न गर्ने भएको छ । पुल निर्माणका लागि नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा  १ करोड ८० लाख रकम विनियोजन भइसकेको छ।पुल निर्माणका लागि सिभाको महर्जन जेभी, ललितपुरले टेन्डर पारी नगरपालिकासँग सम्झौता समेत गरिसकेको छ। 

 

निर्माण पक्षसँग गएको असोजमा नै सम्झौता भए बमोजिम पुल निर्माणको काम २०७८ असार मसान्त भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।आकाशे पुलका डिजाइनर इञ्जिनीयर (चिरायु कन्सल्टेन्सी) LRBSU का अनुसार पुलको लम्बाइ १८ मिटर र चौडाइ ६ मिटरको हुनेछ । 

 

पुलको शिलान्यास बिहीबार गोदावरी नगरपालिकाका प्रमुख  गजेन्द्र महर्जनले गरेका छन् ।  शिलान्यास पछि बोल्दै नगर प्रमुख महर्जनले गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पी र वडा नं ११ कुसुलेचौर जोड्ने यो पुल निर्माणले टिकाभैरब हुदै लामो यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताए।  महर्जनका अनुसार उक्त पुल निर्माणले गोदावरी नगरपालिका वडा नम्बर ७ देबिचौर, वडा नम्बर ८ डुकुछाप र वडा नम्बर ९ छम्पीका जनता प्रत्यक्ष लाभान्वित हुन पाउनेछन्। नगरपालिकामा सेवा लिन आउँदा टिकाभैरब हुँदै हिँडेर आउनुपर्ने अवस्था थियो। 

 

सवारी साधनमा यात्रा गर्दा छम्पी बाट लगनखेल हुँदै चापागाउँ आउनुपर्ने अवस्थामा पुल निर्माण भएपछि यी समस्या हटेर जाने नगर प्रमुख महर्जनले बताए। नगर प्रमुख महर्जनले बजेटका कारण पुल निर्माण नरोकिने प्रष्ट पारे।