hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

सरस्वती मावि र प्रभाव नेपालको सहकार्यमा सात झण्डे सरसफाई सम्मेलन आयोजना


प्रकाशित समय: शुक्रवार, ०९ : ४५ बजे चैत्र १ गते



सरस्वती मावि र प्रभाव नेपालको सहकार्यमा सात झण्डे सरसफाई सम्मेलन आयोजना

ललितपुर,श्री सरस्वती माध्यामिक विद्यालय,लेले ले आज विद्यालय र प्रभाव नेपाल (Splash Nepal) को सहकार्यमा विद्यालय परिसरमा सात झण्डे पूर्ण सरसफाई सम्मेलन कार्यक्रम गरेको छ।

 

विभिन्न सुचक अंकित सात प्रकारका रङ भएका झण्डा राखेर विद्यालय हाताभित्र पूर्ण सरसफाई चलाउने उद्देश्यले सम्मेलन गरिएको प्रभाव नेपाल हाइजिङ अफिसर संगीता रेग्मीले बताइन्। शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ, महिनावारी धारणा र स्वच्छता, शुद्ध पिउने पानी, सुरक्षित खाना समानता र समता, वातावरणीय सरसफाइ यी सात बिषयमा विद्यार्थीहरूको ग्रुप बनाई ग्रुप अनुसार काम गर्न लगाउने, सरसफाई अभियान चलाउने र जुन समूहले सबैभन्दा बढी नम्बर प्राप्त गर्छ त्यो समूह पुरस्कृत हुने व्यवस्था गरिएको रेग्मीले जानकारी दिइन्। यसो गर्दा विद्यालय हाता पूर्णरूपले सरसफाई हुने र विद्यार्थी र भाईबहिनीहरुमा सरसफाई क्षेत्रमा रुची बढ्ने बताइन्।

 

विद्यालयका मावि इन्चार्ज नानीराम सञ्जेलले सीमित स्रोत साधनका बाबजुत विद्यालयले नगरक्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै गरेको, समुदायले विद्यालयप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुँदै गएको बताए। उनले हरित विद्यालयको अवधारणालाई साकार पार्न सातझण्डे कार्यक्रमको दिगोपन हुनेमा प्रतिबद्धता जनाए।

 

गोदावरी नगरपालिकाका शिक्षा अधिकृत देवीलाल विष्टले नगर क्षेत्रभित्रका उत्कृष्ट सामुदायिक विद्यालय भित्र पर्ने यस विद्यालयको प्रशंसा गर्दै अब गुणस्तरीय शिक्षा सँगसँगै संस्कार र संस्कृति पनि सिकाउने बेला आएकोले व्यवहारिक शिक्षा सँगसँगै खानेदेखि चर्पी गर्नेसम्म कुरा स्वास्थ्यकर हुनुपर्नेमा जोड दिए।

 

गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिलवालले लेलेकै एकमात्र माध्यमिक विद्यालयले शिक्षाको क्षेत्रमा प्राप्त गरेको सफलताको प्रशंसा गर्दै अनुभवी र योग्य शिक्षक-शिक्षिकाको टिमलाई धन्यवाद दिए। नगरपालीकाका प्रवक्ता समेत रहेका अध्यक्ष सिलवालले विद्यालयले गर्ने गरेका हरेक क्रियाकलापमा नगरपालिका र वडा कार्यालयको साथ रहँदै आएको र आगामी दिन त्यसलाई निरन्तरता दिँदै जानेमा जोड दिए।

 

उनले २०७४ सालको एसइइ अभ्यास परीक्षामा गोदावरी नगरपालिका भित्रकै उच्चतम अङ्क GPA ३.८५ ल्याउन सफल आशिष तामाङ लगायत विद्यार्थीलाई बधाईँदिँदै आउँदा दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन विद्यालय र विद्यार्थी सफल हुने विश्वास लिए।

 

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विद्यालयले गरेको सरसफाई सम्बन्धी यसप्रकारको कार्यक्रमले नगरको सरसफाई अभियानलाई सहयोग पुगेको बताए।

 

विद्यार्थीहरुले विद्यालय भित्र सिकेका सरसफाई सम्बन्धी क्रियाकलाप घरघर र टोलटोलमा पुर्याउनु पर्ने र यसले पुरै समाज परिवर्तन ल्याउने बताए। उनले सरस्वती विद्यालयको सूचक अवस्था अन्य विद्यालय भन्दा राम्रो भएको र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सक्षम रहेको बताए।

 

उनले नगर शिक्षा क्यालेण्डर २०७५ को पूर्ण कार्यान्वयनले शिक्षाक्षेत्रमा गुणस्तरीय परिवर्तन ल्याएको र आउँदा दिनहरूमा यसले अझै परिस्कृत रूप लिने बताए।

 

कार्यक्रममा सात झण्डे समूहका विद्यार्थीहरुले सरसफाई र स्वच्छता सम्बन्धी प्रतियोगितात्मक गित प्रस्तुत गरेका थिए। जसमा कक्षा ९ मा अध्ययनरत सुजना नगरकोटी ऋचा नगरकोटी र सुशिला नगरकोटीको टिम प्रथम भएको थियो।प्रथम हुने टिमलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो।

 

कार्यक्रममा विद्यालयको सातवटा सूचकहरूको वर्तमान अवस्थाको विश्लेषण गरी फरक-फरक रंग ७ झण्डाको झन्डोत्तोलन गरिएको थियो।