सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

सगरमाथा आरोही कल्पनाले पाइन् वल्र्ड बुक अफ रेर्कड प्रमाणपत्र



प्रकाशित समय: बिहिवार, ०६ : १४ बजे चैत्र ५ गते



सगरमाथा आरोही कल्पनाले पाइन् वल्र्ड बुक अफ रेर्कड प्रमाणपत्र

ललितपुर,विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल ललितपुरकी पत्रकार कल्पना महर्जन वल्र्ड बुक अफ रेर्कडमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । 

वल्र्ड बुक अफ रेकर्डमा कल्पना विश्वको पहिलो पत्रकार महिला सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी हुन् । सगरमाथा आरोही उनलाई बुधबार ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा पूर्व राष्टपति डा.रामवरण यादव र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए । उनले सन् २०१९ मा शिक्षाको माध्यमबाट बालविवाह रोकथाम नारा सहित दक्षिण र उत्तर मोहोडाबाट सगरमाथा चढेकी थिइन् । सगरमाथा आरोहणका लागि महानगरले कल्पनालाई सहयोग गरेको थियो । कल्पनाले सगरमाथाको चुचुरोमा ललितपुर महानगरको झण्डा र शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित ब्यानर राखेकी थिइन् ।

पूर्वराष्ट्रपति रामवरण यादवले कल्पना नेपाल र नेपालीको लागि गौरव भएको बताए । शिक्षा मार्फत बालविवाह रोकथामको लागि कल्पनाले गरेको कामको प्रशंसा गर्दै उनले वातावरण संरक्षणमा पनि काम गर्नुपर्ने धारणा राखे । उनले भने, ‘ग्लोबल वार्मिङले हिमालहरु काला हुँदै गएका छन् , हिमालको हिउँ जोगाउन के गर्न सकिन्छ, त्यस तर्फ काम गर्नु अत्यावश्यक छ । ’

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरकी चेली कल्पनाले हिमाल चढेर विश्वमा नेपाल र ललितपुरको नाम उच्च बनाएको बताए । उनले ललितपुर महानगरपालिकाले खुल्ला क्षेत्र र हरियालीलागि पार्कहरु निर्माण गरिरहको बताए । 

उपप्रमुख गीता सत्यालले महिलाले अवसर पाए चुनौतिपूर्ण भनिएका काम गर्न सक्ने बताइन् । सगरमाथा चढेर कल्पनाले ललितपुरलाई विश्व सामू चिनाएको उनले दाबी गरिन् । 

सगरमाथा आरोही कल्पना महर्जनले सबैको सद्भाव, शुभेच्छाले सगरमाथा आरोहण सफल भएको बताइन् । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपनि समाजमा व्याप्त असमानता, अन्धविश्वासको सगरमाथा आरोहण गर्न कठिन भइरहेको बताइन् । उनले ललितपुरका सामुदायिक विद्यालय शिक्षा र बालविवाह विरुद्ध काम गरिरहेको जानकारी दिइन् ।  

वल्र्ड बुक अफ रेकर्ड नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले कल्पना नेपालको गौरव भएको बताए । महिलामा अपार क्षमता भएको बताउँदै समाजले त्यसको मूल्यांकन गर्न नसकेको स्पष्ट पारे ।