सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

शिवश्री हाइड्रोप्रति स्थानीय रुष्टः स्थानीय भन्छन् , ‘अदालत धाउदा पनि मुआब्जा पाएनौ’



प्रकाशित समय: आइतवार, ०६ : ४१ बजे चैत्र ८ गते



शिवश्री हाइड्रोप्रति स्थानीय रुष्टः स्थानीय भन्छन् , ‘अदालत धाउदा पनि मुआब्जा पाएनौ’

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका वडा ४ फुल्पिङकट्टी सिल्डुङमा निर्माणाधिन् माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाप्रति फुल्पिङकट्टीका स्थानीय रुष्ट देखिएका छन् । २२ दशमलव २ मेगावट लक्ष्यको आयोजनाबाट कबोलिएको मुआब्जा र प्रतिबद्धता कुनै पुरा नभएको भन्दै स्थानीय दिक्क देखिएका हुन् ।

०६७ मा प्राधिकरणसँग विधुत खरिद सम्झौता (पिपिए) गरिएको माथिल्लो चाकु ‘ए’ आयोजनाले हिन्दी, लुकसिङ हुदै आयोजनास्थलसम्म जोडेको सडक लैजादा मुआब्जास्वरुप एक रोपनीको २० लाख बराबरको शेयर ,वार्षिक एक किलोमिटर सडकखण्ड कालोपत्रेजस्ता प्रबिद्धता गरेको स्थानीय बताउँछन् ।

आयोजना स्थापनाको नौ वर्ष भइसक्दासमेत सडक लैजादा एकसय ५० रोपनी जग्गा गुमाएका एकसय १७ परिवार आक्रोशित भएर गाउँमा एक्जाभेटर नै प्रतिबन्ध लगाएको फुल्पिङकट्टी गाउँका स्थानीय अगुवा देविबहादुर बुढाथोकीले बताए । ‘आयोजनाले सबैलाई ‘केही दिदैनौ जे सक्छस् गर ’भनेपछि स्थानीय मिलेर उच्च अदालत पाटन पुग्यौ, अदालतले आवश्यक क्षर्तिपुर्ती दिनु भनेर आदेश दिएको ५ वर्षै बित्न लाग्यो , तर न्याय पाएनौ,’बुढाथोकीले भने ।

अदालती आदेशअनुसार जिल्ला प्रशासन कार्यालयमा नापी अधिकृतको संयोजकत्वमा क्षर्तिपुर्ती समिति बनेको र जसबाट ३ प्राविधिक स्थगलत यर्थाथ विवरण बुझ्न आएपनि स्थानीय सरकारले वेवास्ता गरेको उनको कथन छ । माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले जथाभावी सडक खनेकै कारणले सिंगो गाउँ तलबाट भास्सिँदै गइरहेको स्थानीय मिना सोनारले गुनासो गरिन् ।

‘न क्षर्तीपुर्ती पायौ, न कुनै आश्वासन नै ,उल्टै गाउँ नै तलबाट बग्दैछ ,आयोजनाले हामीलाई पुरा डुबाएको छ,’उनले भने । फुल्पिङकट्टीको लुकसिङ, हिन्दी, डोलेखर्क, कर्मसिंह, बर्मसिह गाउँ तलबाट क्रमश भास्सिँदै गएको छ । भने , थामी गाउा र विक टोलको बस्तीमाथि नै पहिरोले घर बगाएपछि १७ घरका विस्थापीत परिवार अन्यत्र छाप्रो हालेर बसिरहेका छन् । सडकको तल्लो भेगमा भएको घर पहिरोले छोपेपछि विस्थापीत बन्न पुगेकी सर्किनी गदालको परिवार आयोजनाले बास खोसेको बताउँछिन् ।

‘भएको जग्गा आयोजनाको सडक लैजान दिइयो, आहिले न मुआब्जा दिन्छ न आफ्नो बासको ठेगान भएको छ, ’उनले आक्रोश पोखिन् । जलविद्युतले मनमौजी सडक खन्दा गाउँ जोखिममा परेपनि आयोजना र गाउँपालिकामा बारम्बार गुहारेर निवेदन दिएपनि केही नभएको उनले बताइन् ।

स्थानीय सरकारले वास्ता नगरेपछि गाउँले आफै कस्सिएर एक्जाभेटर ठप्प पार्दै लागिपरेको उनले प्रष्ट्याइन् । यसबारे भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले आयोजना र स्थानीयबीच भएको सम्झौतालाई हेर्दै स्थानीयको समस्याबारे सुचना पाएपछि पहलकदमी गरिरहेको जनाए ।

‘आवश्यक पहलकदमी गर्दैछौ, यसबारे यर्थाथ बुझेर स्थानीयले पाउनुपर्ने सहयोगमा विषयको छलफलमा छौ,’उनले भने । माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना कम्पनीका उमेश कसजुकाअनुसार स्थानीयसँग सडकको मुआब्जा शेयर र सडक कालोपत्रेजस्ता कुनै प्रकारको सम्झौता भएको छैन् । ‘त्यत्रो माग यति सानो आयोजनाले कसरी पुरा गर्न सक्छ ,त्यस्तो प्रकारको सम्झौता भएको छैन्, बरु थप सडक जोडिदिने सहमती भएको हो, आयोजनाबाट गाउ“पालिकालाई सघाउनुपर्ने सघाइरहेका छौ, ’कसजूले भने ।