सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट



प्रकाशित समय: बिहिवार, ०७ : १६ बजे चैत्र १९ गते



सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेर (H. E. Hanan Goder)  बीच आज शिष्टाचार भेट भएको छ ।  सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत गोडेरलाई सफल कार्यकालका लागि शुभकामना दिनु भयो ।    

सभामुख सापकोटाले नेपाल र इजरायलबीच ६० बर्ष लामो कुटनैतिक सम्बन्ध रहेको चर्चा गर्दै दुुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको बताउनु भयो । उहाँले इजरायलले कोरोना नियन्त्रण र आम नागरिकलाई खोप लगाउने कार्यमा प्राप्त गरेको सफलताका लागि बधाई ज्ञापन गर्नु भयो ।  सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले दुई देशका संसद–संसदबीचको सम्बन्धलाई जीवन्त बनाउन दुबै देशबाट पहल र प्रयत्न हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण लगायतका सबै क्षेत्रमा सम्बन्ध र सहकार्यको ढोका छिट्टै खुल्नेमा आफू आशावादी रहेको बताउनु भयो ।  सभामुख सापकोटाले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै नेपालीहरुलाई इजरायलले रोजगारीको अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनु भयो ।  

राजदूत गोडेरले नेपाल र इजरायलबीच राम्रो सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गर्नु भयो । उहाँले दुबै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताउनु भयो । राजदूत गोडेरले इजरायलका ५० प्रतिशत नागरिकले कोरोना विरुद्धको दुबै डोज खोप लगाइसकेको जानकारी गराउँदै कोरोना विरुद्धको लडाईंमा नेपालले सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नु भयो ।