सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

अब १५ वर्ष कम्युनिष्ट प्रधानमन्त्री नबन्ने  कांग्रेस नेता गुरुङको ठोकुवा



प्रकाशित समय: आइतवार, ०६ : २७ बजे बैशाख ५ गते



अब १५ वर्ष कम्युनिष्ट प्रधानमन्त्री नबन्ने  कांग्रेस नेता गुरुङको ठोकुवा

ललितपुर,नेपाल कम्युनिष्ट पार्टीको अहिलेको गतिविधि कारण कम्तिमा पन्ध्र वर्ष कम्युनिष्ट प्रधानमन्त्री नबन्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले ठोकुवा गरेका छन्। महाङ्काल गाउँपालिका वडा नम्बर ४ कालेश्वरले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले वर्तमान समयमा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने प्रक्रिया सुरु भइसकेकोले छिटै कांग्रेस नेतृत्वको सरकार गठन हुने जानकारी गराए।

नेपाली काँग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्यले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी बलियो नहुने बताए। नयाँ क्रियाशील सदस्यहरुलाई संगठनको बारेमा बुझाउन जरुरी रहेको उनले बताए। राजनीतिक संस्कार र योगदान नभएको मान्छे कांग्रेस हुन नसक्ने उनको भनाइ थियो। सभापति अमात्यले कांग्रेसमा यो देशको भविष्य रहेको बताउँदै  कांग्रेसले आफुले आफुलाई चिन्न सके कांग्रेसलाई सँधै जनताको साथ रहने प्रष्ट पारे।

प्रशिक्षणमा बोल्दै पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कांग्रेसले आफूले गरेको कामको प्रचार गर्न नसक्दा पार्टी पछि परेको बताए। नेता राणाले कांग्रेसले ७० सालको निर्वाचनपछि तीनवटा प्रमुख काम संविधान निर्माण, स्थानीय तहको निर्वाचन र विकास निर्माण कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको बताए। नेता राणाले ललितपुरमा २०४६ सालदेखि हालसम्म ३१ वर्षको अवधिमा २७ वर्ष कम्युनिष्टहरुले जितेको र कांग्रेसले ४ वर्ष चलाउँदाको तुलना गर्न आग्रह गर्दै कम्युनिष्टहरुले २७ वर्ष गरेको काम भन्दा ४ वर्ष कांग्रेसले गरेको काम बढी भएको ठोकुवा गरे। उनले कांग्रेसले गरेको कामको प्रचार गर्न नसक्दा कम्युनिष्टहरुले स्थिर सरकार भनेर जनतालाई झुक्याएर देशलाई बर्बादी तर्फ धकेलेर यो अवस्थामा पुर्याएको बताए। काँग्रेस प्रतिको विश्वास जनतामा रहेको बताउँदै नेता राणाले कांग्रेसलाई बलियो पार्टी बनाउन पार्टीले गरेका कामको प्रचार गर्नुपर्नेमा जोड दिए। 

 

महासमिति सदस्य एवं खेलकूद विभाग सचिव मीन कृष्ण महर्जनले नेपाली जनता राजनीतिबाट आजित भएको बताए। उनले वर्तमान सरकार भ्रष्टाचार गर्न मै व्यस्त रहेको बताए। वर्तमान ओली सरकार आफ्नो सत्ता टिकाउन छिमेकीको शरणमा लम्पसार परेको बताए। नेता महर्जनले आफ्नै नेता-कार्यकर्ताले अन्तरघात गर्दा पार्टी यो अवस्थामा पुगेकाले अबका दिनमा त्यस्ता अन्तरघातीलाई सबक सिकाउनु पर्ने बेला आएको बताए। पार्टीमा लागेपछि सबै इमान्दार रहनु पर्ने उनको भनाइ थियो। 

अर्का नेता ऋषिराम घिमिरेले पार्टी भित्रका गल्ती कमि कमजोरीलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए। विकास निर्माणलागि कांग्रेसले निर्बाचन जित्नु अपरिहार्य भएको बताए।

कार्यक्रममा नेपाली काँग्रेस ललितपुरका जिल्ला सदस्य ऋषिदेव फुँयाल, गणेश केसी, तुल प्रसाद तिमिल्सिना, क्षेत्रीय सभापति राजन प्रसाद घिमिरे, नेपाली कांग्रेस बागमती प्रदेश तरुण विभाग प्रमुख पद्मनारायण तिमल्सिना लगायत नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।