सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

नेपालमा १० प्रतिशत बालबालिका संक्रमित



प्रकाशित समय: शनिवार, ०९ : १६ बजे बैशाख १८ गते



नेपालमा १० प्रतिशत बालबालिका संक्रमित

 काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० देखि १९ वर्षसम्मका ३१४४ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.१२ र ७.१९ प्रतिशत हो भने समग्रमा ९.३१ प्रतिशत हो ।

 

मन्त्रालयको तथ्यांक अनुसार १७ दिनको अवधिमा कुल १ लाख ६४ हजार ८१२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ४३ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको थियो । जुन ४ जनाको परीक्षण गर्दा औसतमा १ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।

 

बिहीबार १५ हजार ९१६ नमुना परीक्षण गर्दा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७२७ संक्रमित हुँदा २० वर्ष मुनिका ५०६ जना बालबालिका कोरोनाको चपेटामा परेका छन् । जसमध्ये ९ वर्षसम्मका १३९ जना र १० देखि १९ वर्षसम्मका ३६७ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.४३ र ६.४१ प्रतिशत हो भने समग्रमा ८.८४ प्रतिशत हो ।

 

बढी समय बाहिर घुलमिल हुने अभिभावक सचेत नबन्दा बालबालिकामा पनि संक्रमण बढेको बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलको ठम्याइ छ।

 

चिकित्सकहरुले बताए अनुसार तुलानात्मक रुपमा कोरोना संक्रमणको दोस्रो लहरले बालबालिका बढी प्रभावित भएका छन् ।

 

वयस्क व्यक्तिको तुलनामा बालबालिकाको परीक्षण कम भएका कारण अहिलेको तथ्यांक अन्य उमेर समूह भन्दा कम देखिए पनि यथार्थमा बढी हुन सक्ने चिकित्सकहरु बताउँछन् ।