सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

सहकारीको माध्यमले रोजगारीको सिर्जना - नगरप्रमुख महर्जन


प्रकाशित समय: सोमवार, ०८ : ४१ बजे चैत्र १८ गते



सहकारीको माध्यमले रोजगारीको सिर्जना - नगरप्रमुख महर्जन

ललितपुर,गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सहकारीको माध्यमवाट धेरै जनाले रोजगारी प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

 

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज गोदावरी नगरपालिका र ६२ औं राष्ट्रिय सहकारी दिवस–२०७५ जिल्ला मुल समारोह समिति ललितपुरद्धारा संयुक्त रुपमा आयोजना गरिएको ‘गोदावरी नगरपालिका स्तरीय सहकारी अन्र्तक्रिया’ कार्यक्रममा बोल्दै उहाँले सहकारी मार्फत समग्र देशको अर्थतन्त्र मजवुत बनाउन सकिने नगरप्रमुख महर्जनको भनाई थियो ।

 

सहकारीकै माध्यमवाट रोजगारीको सिर्जना मात्र नभई विभिन्न सीपमुलक तथा सामाजिक कामहरु गर्न सकिने उहाँको जोड थियो । नगरक्षेत्रभित्र रहेका १२८ वटा सहकारीले समग्र नगरको विकासमा थप सहयोग गर्न सकिने उहाँले बताउनुभयो । प्रत्येक नगरवासीको आर्थिक एवम् सामाजिक विकासमा सहकारी एउटा अभिन्न अङ्गका रुपमा रहनुपर्नेमा प्रमुख महर्जनको जोड रहेको थियो ।

 

सहकारीको क्रियाकलाप ऋण प्रवाह र बचत सङ्कलनमा मात्र सिमित नरही समुदायकै जीवनस्तर माथि उठाउन तथा आर्थिकस्तर वृद्धिमा थप सहयोगी भूमिकाको रुपमा रहनुपर्ने उहाँले बताउनुभयो ।

 

नीति र नियमभित्र रहेर आफ्नो काम गर्न सहज बनाउन नगरपालिकाले सहकारी ऐन समेत ल्याएको उहाँले जानकारी दिनुभयो ।

 

सोही अवसरमा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले समग्र सहकारी विकास र सुदृढीकरणका लागि संघको भूमिका सदैव सकारात्मक रुपले अघि बढिरहेको बताउनुभयो ।

 

दिवसको अवसर पारेर सहकारी सम्बन्धी उहाँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।