सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २ असार २०७८ / Wednesday, 16 June 2021

बागमती गाउँपालिकामा २० शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालन



प्रकाशित समय: आइतवार, ०६ : ४२ बजे जेठ २ गते



बागमती गाउँपालिकामा २० शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालन

ललितपुर,बागमती गाउँपालिकाले अक्सिजन सहितको २० शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। 

दक्षिण ललितपुरमा रहेको बागमती गाउँपालिकाले पालिकाभित्रका २ स्थानमा अक्सिजनको व्यबस्था सहितको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले जानकारी दिए । अध्यक्ष लोप्चनका अनुसार पालिकामा गत हप्ता बसेको स्वास्थ्य समितिको बैठकले निर्णय अनुसार अस्थायी कोभिड अस्पताल निर्माण गरेको उनले बताए। 

उनका अनुसार गाउँपालिकाले वडा नं. ४ प्युटारको थाङ्सिङ्टारको पालिका स्तरिय अस्पतालमा २० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको बताए। त्यस्तै वडा नं. ३ भट्टेडाँडामा रहेको पुरानो कृषि कार्यालयमा ५ बेडको कोभिड अस्पताल पनि केही दिनभित्रै सञ्चालनमा ल्याइने उनले उल्लेख गरे।

गाउँपालिका भित्रका कोभिड संक्रमित बिरामीको उपचार सहज होस् भनेर अस्थायी कोभिड अस्पताल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लोप्चनले बताए । यी दुई अस्थायी कोभिड अस्पतालमा एक जना डाक्टर, एक जना नर्स र एक जना एचए स्टाफ रहने व्यवस्था मिलाइएको छ। 

देशैभरी अक्सिजन र बेडको अभाव भइरहँदा गाउँपालिकाले भने गाउँपालिका भित्र रहेका उद्योग कलकारखानाको अनुगमन गरी सातवटा अक्सिजन सिलिन्डर संकलन गरी अक्सिजन भरेर तयारी अवस्थामा राखेको छ। पालिका अध्यक्ष वीर बहादुर लोप्चन, उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिना, वडा नं २ का वडा अध्यक्ष बिजयकुमार लोको उपस्थितिमा अनुगमनकारी अक्सिजन सिलिन्डर संकलन गरिएको गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरेले बताए।गाउँपालिकाले कोभिड संक्रमित बिरामीको लागि छुट्टै एम्बुलेन्स सञ्चालन व्यवस्था मिलाएको समेत जानकारी दिएको छ। अहिले बागमती गाउँपालिकाको व्यवस्थापनमामा दुइ वटा एम्बुलेन्स सञ्चालनमा छन्।

गाउँपालिकामा पछिल्लो दिन कोरोना संक्रमितको संख्या बढेपछि गाउँपालिकाले अत्यावश्यक कामबाहेक आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ।