hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

चोभार डाँडामा रहेको आदिनाथको मूर्तिको खटजात्रा


प्रकाशित समय: शनिवार, ०७ : ५४ बजे चैत्र ३० गते



चोभार डाँडामा रहेको आदिनाथको मूर्तिको खटजात्रा

काठमाडौँ,काठमाडौँको दक्षिणी भेग चोभार डाँडामा रहेको आदिनाथको मूर्तिको आज खटजात्रा गरिएको छ ।

 

एकसाता अगाडि महास्नान गराइएको उक्त मूर्तिलाई चैतेदशैँका दिन दोभानमा बाजागाजासहित लगेर पूजा गर्ने परम्पराअनुसार जात्रा निकालिएको हो । स्थानीय चोभारडाँडाबाट करीब तीन किलोमिटरको दूरीमा पर्ने नख्खु दोभानसम्म मूर्तिलाई खटमा बोकेर लैजाने चलन छ । आदिनाथको मन्दिरमा रहेको मूर्तिमा नरनारीको रुप रहेकाले त्यसलाई ‘अर्धनारेश्वर’समेत भनिन्छ ।

 

उक्त मूर्तिमा भगवान् शिव तथा पार्वतीको संयुक्त आकार रहेको जनविश्वास छ । प्राचीन समयमा मूर्ति सोही दोभानमा फेलापरेपछि चोभारका स्थानीयवासीले मन्दिर बनाई डाँडामाथि लगेर आजकै दिन प्रतिस्थापन गरेको जनविश्वास छ । काठमाडौँ उपत्यका तथा त्यस आसपासका क्षेत्रबाट जात्रामा सहभागी हुन भक्तजनको घुइँचो लागेको छ ।

 

वर्षमा एकपटक मात्र गरिने सो खटजात्रामा विभिन्न धर्मावलम्बी तथा विदेशीसमेत सहभागी हुने गर्छन् । आदिनाथ मन्दिरलाई हिन्दू धर्मावलम्बीले शिव शक्तिका रूपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रूपमा मान्ने गरेका छन् । करुणाका प्रतीकका रुपमा समेत मानिने आदिनाथको सो जात्रामा सहभागी भएमा रोगब्याधिबाट मुक्ति पाइने र सकारात्मक ऊर्जा प्राप्त भई असल कार्यका लागि प्रेरणा मिल्ने विश्वास छ ।

 

साँझ स्थानीयवासीको घर आँगनमा मूर्तिलाई पु¥याई दर्शन गराइने र मन्दिरमा प्रसाद वितरण गरिने कार्यक्रम छ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महीना मेला लाग्छ ।