सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर

..
प्रकाशित समय: शनिवार, ०८ : १५ बजे चैत्र ३० गते



सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर

 काठमाडौँ- सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन् ।

 

सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्म बाटो बनाउने काम सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिनुभयो । सगरमाथाको दोस्रो शिविरसम्म हिमनदी, हिमखाल्डा तथा जोखिमपूर्ण ठाउँ प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिन्छ ।

 

सगरमाथा आरोहणमा भन्दा आधार शिविरदेखि क्याम्प–१ र क्याम्प–२ पुग्नु जोखिम मानिने आरोही बताउँछन् । आइसफल डाक्टर आठ जनाको समूहमा खटिएका छन् । आइसफ डाक्टरको समूहले डोरी टाँगिसकेपछि छ जनाले तलमाथि गरेर बाटो मर्मतको काम गर्छन् भने दुईजना दोस्रो शिविरमै बसेर निरीक्षणको काम गर्ने समितिले जनाएको छ । यो क्रम आरोहण शुरु हुने अवधिसम्म जारी रहन्छ ।

 

आइसफल डाक्टरका अनुसार विगतमा भन्दा यस पटक सगरमाथा आरोहणका लागि बाटो राम्रो भएको छ । अनुकूल मौसमले आरोहण उत्साहजनक हुने अपेक्षा गरिएको एसपिसिसीका अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो । संस्थाका कार्यक्रम अधिकृत कपिन्द्र राईले आइसफल डाक्टरको टोलीले दोस्रो शिविरसम्म सफलतापूर्वक बाटो बनाइसकेको बताउनुभयो ।

 

समितिले प्रत्येक वर्ष सगरमाथाको क्याप्प–२ सम्म बाटो बनाउने जिम्मा पाएको छ । दोस्रो शिविरदेखि शिखरसम्मको बाटो बनाउने काम एक्सपिडिसन अपरेटर एशोसिएशनले गर्दै आएको छ । एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पाँचदेखि सात दिनभित्र आइसफल डाक्टर (आठ जना) को समूह सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म डोरी टाँग्न जानेछन् ।

 

अहिले बाटो खुलाउनका लागि आवश्यक औजार, डोरीलगायतका सामग्री हेलिकोप्टरमार्फत दोस्रो शिविर पु¥याइएको छ । आइसफल डाक्टरको समूह सगरमाथाको आधार शिविरदेखि आरोहण गर्दै माथिसम्म पुग्नुपर्छ । “सगरमाथाको खुम्बु आइसफसम्म अर्थात दोस्रो शिविरसम्म बाटो बनिसकेको छ । अहिले शेर्पा तल माथि गरिरहेका छन् । ८० देखि ९० भारी सामानमाथि चुचुरोसम्म लैजानुपर्ने हुन्छ । ‘‘डोरी, स्नोवार, क्याराबिन आइस–क्रु आदि सामान लैजानुपर्छ, आवश्यक जनशक्तिको व्यवस्था गरेर बाटो खुलाउछौँ,”–अध्यक्ष पराजुलीले भन्नुभयो । सामान्यतयः मे महीनाको १२ देखि १८ तारिखसम्म दोस्रो शिविरदेखि चुचुरोमा डोरी टाँगिन्छ ।

 

यो कामका लागि करीब रु एक करोड खर्च लाग्ने गर्दछ । यसको ४० प्रतिशत सामग्री ढुवानीमै खर्च हुन्छ । कीर्तिमानी आरोही फुर्वा तेञ्जिन शेर्पाको अनुभवमा सगरमाथाको बाटो बनाउने काम निकै चुनौतीपूर्ण मानिन्छ । खासगरी दोस्रो शिविरसम्म बाटो धेरै खतरा हुन्छ । उक्त क्षेत्रमा चाँडो चाँडो हिम खाल्डा तथा दरार उत्पन्न हुने भएकाले आरोहण जोखिम हुन्छ । सगरमाथा आरोहणको समय सामान्यतः ७५ दिनको हुन्छ । त्यससमध्ये ५० दिन हिमाल आरोहणमै बित्छ ।

 

समिटका लागि गएका सबै आरोही मे २९ मा आधार शिविर झरिसक्नुपर्ने हुन्छ । डिमर एक्सपीडिसनका अध्यक्ष समेत रहनुभएका शेर्पाले यो याममा ‘प्रथम चिनियाँ महिला सगरमाथा आरोहण २०१९’ र एक नेपाली गरी दुई आरोही समूह सगरमाथा आरोहणमा पठाएको छ । पर्यटन विभागका अनुसार वसन्तु ऋतुको यो याममा सगरमाथासहित २० हिमाल आरोहणका लागि हालसम्म ७२ आरोही समूहका ६३६ आरोहीले आरोहण अनुमति पाएका छन् ।

 

यीमध्यै सबैभन्दा बढी सगरमाथा आरोहणका लागि २८ आरोही समूह छन् । हिमाल आरोहणबाट बिहीबारसम्म रु ४१ करोड ४७ लाख ६८ हजार १४५ रोयल्टी सङ्कलन भएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।