hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ८ श्रावण २०७६ / Wednesday, 24 July 2019

टीकापुर अस्पताल चिकित्सकको लापरवाही, तलब सरकारी काम क्लिनिकमा


प्रकाशित समय: बुधवार, ०६ : १० बजे बैशाख २५ गते



 टीकापुर अस्पताल चिकित्सकको लापरवाही, तलब सरकारी काम क्लिनिकमा

 कैलाली-   कैलालीको टीकापुर अस्पतालमा कार्यरत चिकित्सक कामका समयमा आफ्नो कार्यकक्षमा नभई निजी क्लिनिकमा भेटिने गरेका छन् । अस्पतालमा कार्यरत अधिकांश चिकित्सकका अस्पताल बाहिर निजी क्लिनिक छन् । क्लिनिक नभएका चिकित्सकलाई पनि निजी क्लिनिकमै बिरामी जाँच गर्न भ्याइनभ्याई हुने गरेको छ । त्यतिमात्र नभई अस्पतालमा बिरामी जाँच गर्दागर्दै पनि क्लिनिकबाट फोन आउनेबित्तिकै बिरामीको जाँच गर्न छाडेर चिकित्सक निजी क्लिनिकमा जाँचका लागि जाने गरेको बिरामीको गुनासो छ ।

 

“पूर्जी काट्नका लागि घण्टौँ लाइनमा बसेपछि पालो आउँछ । बिरामी जाँच गर्ने कक्ष पुग्दा डाक्टर भेटिँदैनन् ।” बर्दियाबाट चेकअपको लागि टीकापुर अस्पताल पुगेका शेरबहादुर विष्टले भन्नुभयो, “यति टाढाबाट आयाँैं, घण्टाँै लाइन बस्यौंँ, कक्षमा डाक्टर हुँदैनन् । फेरि निजी क्लिनिकमै जानुपर्ने बाध्यता हुन्छ ।” अस्पतालमा बिरामी जाँच गर्दागर्दै चिकित्सकहरू त्यताका बिरामीलाई अर्को पटक जाँच गर्न आउँदा क्लिनिकमै बोलाउँछन् । चिकित्सकले क्लिनिकमा जाँच गरेको पूर्जी शुल्क रु पाँच सयसम्म असुल्ने गरेका छन् । पुर्जी शुल्क संँगसँगै नानाभाँतीका औषधि पनि थम्याउने गरेको बिरामीले बताउने गरेका छन् ।

 

अस्पतालको यस्तो समस्या अहिलेको भने होइन । अस्पताल विकास समितिले यस्ता समस्याको जनगुनासो बढी आउन थालेपछि अस्पतालको प्रवेशद्वारमै सिसी टिभी क्यामरासमेत जडान गरेको छ भने डिजिटल हाजिरीको समेत व्यवस्था गरेको छ तर पनि यो कार्य रोकिएको छैन । चिकित्सक अस्पतालमा समयमै आउँछन् तर हाजिर लगाएर फेरि निजी क्लिनिकमै जाने गरेको एक औषधि पसलेले नाम नभन्ने शर्तमा बताउनुभयो ।

 

उहाँले टीकापुर अस्पतालमा कार्यरत चिकित्सकको मनपरीले कैयौंँ पटक जटिल खालको समस्या आउने गरेको बताउँदै सिसी टीभी क्यामरा हुँदाहुँदै कार्यकक्षबाट कम्प्युटरसहितका सामान चोरी हुनाले पनि ठूलो शङ्का उब्जाएको आशङ्का गर्नुभयो । अस्पतालले आफ्नो हाताभित्र सहुलियत औषधि पसल नै सञ्चालनमा ल्याए पनि यसबारे अधिकांश बिरामीलाई थाहा नै छैन । चिकित्सकले सहुलियत औषधि पसल हुँदाहुँदै पनि आफ्नै क्लिनिकमा औषधि किन्न पठाउने गरेका छन् त केही पूर्जी हातमा बोक्दै आफ्नै क्लिनिकमा समेत पुग्ने गरेका छन् । त्यति मात्र नभई औषधि लेखेर पुर्जी दिँदा चिकित्सकले बिरामीलाई यो औषधि अन्त कतै नपाइने भएकाले बाहिर फलानो मेडिकलमा जानू भनेर भनेको बिरामीले जनाएका छन् ।

 

चिकित्सकले अस्पतालको उपचारका सामग्रीको प्रयोग निजी क्लिनिकमा लगेर गर्ने गरेको समेत पाइएको छ । क्लिनिकमा लिइएका कति सामानहरू अस्पताल फर्किन्छ त कति सामान क्लिनिकमै हराउँछन् । तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष रतनबहादुर खड्काले चिकित्सकले निजी क्लिनिकमा बढी समय दिएको स्वीकार गर्नुभयो । “अस्पताल विकास समितिले अस्पतालको सबै निगरानी गथ्र्याे । हाल मेरो कार्यकाल सकिएको पनि दुई महिना भइसकेको छ ।” खड्काले भन्नुभयो, “डाक्टरहरू ड्युटी नै छोडेर जान्छन्, यो गुनासो पहिले पनि आउने गरेको थियो, अहिले अस्पताल नेतृत्वविहीन अवस्थामा छ । नभएको होला भन्न सक्ने अवस्था छैन ।”

 

टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत अस्पतालमा बालरोग विशेषज्ञ ल्याएको छ तर आर्थिक मसान्त सकिनै लाग्दा बालरोग विशेषज्ञ अस्पतालमा रहने÷नरहने भन्ने अन्योल पनि बढ्दै गएको छ । “नगरपालिकाको चालु बजेटमा बालरोग विशेषज्ञ ल्याएको हो”, खड्काले भन्नुभयो, “अब बालरोग विशेषज्ञ रहने÷नरहने अन्यौलता बढेको छ । साथै अस्पताल विकास समिति नेतृत्वविहीन अवस्थामा हुँदा जिम्मेवारी नगरपालिकाले लिनुपर्ने भएकोले नगरपालिका गैरजिम्मेवार देखिएको छ ।”

 

गत असार महिनामै अस्पताल विकास समिति नरहने निर्णय सरकारले गरेपछि टीकापुर नरगपालिका र अस्पताल विकास समितिका अध्यक्षबीच पनि ठूलो मनमुटाव रहँदै आएको छ । हालको अवस्थासम्म अस्पताल प्रदेश कि स्थानीय तहको मातहतमा रहने भन्ने अझै स्पष्ट भइनसकेको बताउँदै खड्काले टीकापुर अस्पताल सेती अञ्चल अस्पतालपछिको जिल्लाकै ठूलो सामुदायिक ठूलो अस्पताल रहेको जिकिर गर्नुभयो ।

 

स्रोतसाधनले सम्पन्न भए पनि दरबन्दीअनुसार चिकित्सक नहुनु र दरबन्दीका चिकित्सकले पनि आफ्ना निजी क्लिनिकलाई बढी प्राथमिकता दिनुले अस्पतालमा आउने बिरामीलाई सास्ती भइरहेको छ । टीकापुर अस्पतालमा दैनिक तीन सयदेखि चार सयसम्म बिरामी जाँचका लागि आउने गरेका छन् ।