hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने


प्रकाशित समय: बुधवार, ०६ : १९ बजे बैशाख २५ गते



तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने

काठमाडौँ-  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिनुभएको छ ।

 

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा उहाँले यही ‘मे’ महीना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताउनुभयो । तातोपानी नाका सञ्चालनबारे चीनको सरकारले जानकारी दिइसकेको बताउँदै मन्त्री ज्ञवालीले चीनले आफ्नो क्षेत्रका बस्ती सारिसकेकाले तातोपानी नाकामा अब थोक व्यापार बढी हुने उल्लेख गर्नुभयो ।

 

गोरखा भूकम्पले क्षतिग्रस्त भएपछि उक्त नाका त्यसयता सञ्चालनमा आउन सकेको थिएन । सांसदको जिज्ञासापछि उहाँले चीनसँगका अन्य नाकाको पछिल्लो अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको यही वैशाख ११ देखि १८ गतेसम्मको चीनको राजकीय भ्रमणबारेमा समितिमा जानकारी दिँदै त्यसमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको थियो । साथै उहाँले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत नेपालले लिन सक्ने पारस्परिक लाभका बारेमा प्रकाश पार्दै भारत र चीनसँग नेपालको एक मात्र स्वार्थ भनेको दुवै मुलुकसँग जोडिएर विकास गर्नु हो भन्नुभयो ।

 

मन्त्री ज्ञवालीले नेपालले आफूले नगरेको गल्तीस्वरुप जलवायु परिवर्तनका असरको सामना गर्नुपरेका सन्दर्भमा अन्तरराष्ट्रियस्तरको छलफल गर्नका लागि सो सगरमाथा संवाद अघि सारिएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको यही वैशाख २६ गतेदेखि हुने भियतनाम र कम्बोडियाको भ्रमणका बारेमा समेत बैठकमा जानकारी दिनुभएको थियो ।

 

बैठकमा समितिका सभापति पवित्रा निरौलाले समितिले सम्बन्धित मन्त्रालय र निकायलाई दिएका निर्देशनको प्रभावकारी पालना नहुने गरेका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सरकारका उच्चस्तरीय विदेश भ्रमणबारे समितिलाई अग्रीम जानकारी गराई आवश्यक छलफल गर्नुपर्ने धारणासमेत व्यक्त गर्नुभएको थियो ।