hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

हेलम्बुमा बञ्जी निर्माण प्रक्रिया शुरु, पर्यटन प्रबर्धन गर्ने विश्वास


प्रकाशित समय: शुक्रवार, ०६ : ५५ बजे बैशाख २७ गते



हेलम्बुमा बञ्जी निर्माण प्रक्रिया शुरु, पर्यटन प्रबर्धन गर्ने विश्वास

सिन्धुपाल्चोक- पर्यटकीय दृष्टिकोणले उत्कृष्ट सिन्धुपाल्चोकको हेलम्बुमा बञ्जी पूर्वाधार निर्माण कार्य शुरु भएको छ । बञ्जीको लागि हालसम्मकै लामो झोलुंगे पुल निर्माणको काम आगामी आर्थिक वर्ष २०७६/७७ देखि शुरु गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

 

डा. एन एल जोशी कन्सल्टेन्सीद्वारा तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार उक्त निर्माण कार्यका लागि रु पाँच करोड ३९ लाख बजेट लाग्ने उल्लेख गरिएको छ । ठूलो बजेट भएकाले निर्माणको लागि ‘सस्पेन्सन वृज डिभिजन’लाई आग्रह गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

 

डिपीआर अनुसार बञ्जीको उचाई १७३ मिटर र झोलुङ्गे पुलको लम्बाइ ३७० मिटर लामो हुनेछ । बन्न लागेको झोलुङ्गे पुल हालसम्मकै लामो हुने भएकाले प्राविधिक रुपमा चुनौतीपूर्ण रहेको गाउँपालिकाको इञ्जिीनियर शेरबहादुर राईले बताउनुभयो । उहाँका अनुसार देशमा हाल २५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन ।

 

उक्त गाउँपालिका–१ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइने झोलुङ्गे पुल पाङगाङ र धवागाङ दुई वटा गाउँलाई जोड्दछ । उक्त पुल बनेपछि एक गाउँबाट अर्को गाउँ पुग्न लाग्ने ५ घण्टा समयसमेत बचत भई मिनेटमा सीमित हुने इञ्जिीनियर राई बताउनुहुन्छ ।

 

सो स्थानमा बञ्जी तयार भएपछि अझ बढी पर्यटक आउने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको समेत अवलोकन गर्न सकिने अध्यक्ष शेर्पा बताउनुहुन्छ ।

 

सन् १९९८ मा प्रकाशित पर्यटनसम्बन्धी वेभ नामक पत्रिकाका अनुसार विश्वको सबैभन्दा अग्लो २२० मिटर उचाइ बञ्जी दक्षिण अफ्रिकामा छ । त्यसपछि १६० मिटर अग्लो सिन्धुपाल्चोककै भोटेकोशी नदीमा विसं २०५६ देखि सञ्चालनमा आएको छ । अब बन्ने बञ्जीको उचाइ भोटेकोशीको तुलनामा १३ मिटर बढी उचाइको हुनेछ ।