सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

अफगानिस्तानमा विद्युतीय धराप बिस्फोट हुँदा सात जना बालबालिकाको मृत्यु


प्रकाशित समय: शनिवार, ०७ : ०२ बजे बैशाख २८ गते



अफगानिस्तानमा विद्युतीय धराप बिस्फोट हुँदा सात जना बालबालिकाको मृत्यु

अफगानिस्तान - दक्षिण अफगानिस्तानमा शनिबार विद्युतीय धराप बिस्फोट हुँदा सात जना बालबालिकाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएका छन् ।

 

राजधानी काबुलबाट दक्षिणमा रहेको घाज्नी प्रान्तमा उक्त बिस्फोट भएको प्रहरीले जनाएको छ । प्रान्तीय प्रवक्ता आरिफ नूरीले सडक किनारामा बालबालिका खेल्दै गरेको अवस्थामा बारुदी सुरुङ बिस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिनुभयो ।

 

सरकारी सुरक्षाकर्मीलाई लक्षित गरी विद्रोही तालिबानी समूहले सडक किनारामा विद्युतीय धराप राखेको उहाँले बताउनुभयो । तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

 

अफगान सुरक्षाफौजलाई लक्षित गरी तालिबान समूहले सडक किनारामा बम राख्ने गरेका छन् । यी बेबारिसे बमले सर्बसाधारणको ज्यान लिने गरेका छन् । घाज्नी प्रान्तीय परिषदका एक सदस्य अमानुल्लाह कामरानीले मारिएका बालबालिकाहरु ७ देखि ९ वर्षका रहेको जानकारी दिनुभयो । एकै परिवारका चार जना बालबालिकाको मृत्यु भएको थियो ।

 

अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत महिना मोर्टार बिस्फोट हुँदा सात जना बालिकाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१८ मा गृहयुद्धका कारण अफगानिस्तानमा ९०० भन्दा बढी बालबालिकाको ज्यान गएको थियो ।