सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

सिन्धुकपको उपाधि जावलाखेललाई, अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीलाई सम्मान


प्रकाशित समय: शनिवार, ०७ : २९ बजे बैशाख २८ गते



सिन्धुकपको उपाधि जावलाखेललाई, अन्तराष्ट्रिय पदक दिलाउने  खेलाडीलाई सम्मान

सिन्धुपाल्चोक -  सिन्धुकप फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधि सहिद स्मारक 'ए' डिभिजन लिग क्लब जावलाखेल युथ क्लबले जितेको छ । शनिबार भएको फाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई २-० गोल अन्तरले पराजित गर्दै जावलाखेल उपाधि जितेको हो । 

 

लामोसाघुस्थित बसन्तपुर मैदानमा १० खेलाडीमा सिमित जावलाखेललाई जित दिलाउन ड्यानियल बेजले दुई गोल गरे । खेलको १८ औं मिनेटमा बेजले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा बेजले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई च्याम्पियन बनाए ।

 

खेलको ३६ औं मिनेटमा डाम्बियाले रातो कार्ड पाउँदा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । उपाधिसंगै जावलाखेलले ५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता गोर्खाले २ लाख ५० हजारमा चित्त बुझायो ।

 

प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर जावलाखेलका फोफना फोडले हात पार्दा मिडफिल्डरको उपाधि आयोजक युथ स्पोर्टसका क्रिजल खड्काले हात पारे । यस्तै उत्कृष्ट गोलकिपर गोरखा ब्वाइज क्लबका दीलिप क्षेत्री र उत्कृष्ट प्रशिक्षक आयोजककै सन्दीप खड्का घोषित भए । विधागत तर्फका विजेताले समान ५/५ हजार हात पारे ।

 

युथ स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । यस्तै प्रतियोगिताको आयोजक क्लबले नेपाललाई अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीहरुलाई समेत नगदसहित सम्मान गरेको छ ।

 

सम्मानित हुनेमा पुर्व म्याराथन धावक जित बहादुर केसी, पुर्व तेक्वान्दो खेलाडी दिपक विष्ट, शारिरिक सुगठनका महेश्वर महर्जन, म्याराथन धाविका कान्छी माया कोजु, पूर्व राष्टिय भलिबल टोलीका कप्तान भरत बहादुर शाह, महिला भलिबल खेलाडी कोपिला उप्रेती, राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथु, एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठ, तेक्वान्दो खेलाडी सक्षम कार्की, रोहिन्द्र विक्रम खड्का र शर्मिला खड्का रहेका छन् ।