सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

बजेट अभाव भन्दै क्यान्सर बिरामीलाई दिइदैं आएको सहायता रोकियो


प्रकाशित समय: आइतवार, ०७ : ५८ बजे बैशाख २९ गते



बजेट अभाव भन्दै क्यान्सर बिरामीलाई दिइदैं आएको सहायता रोकियो

काठमाण्डाै - सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोका गरिएको खुलासा भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिइँदै आएको १ लाख रुपैयाँ आर्थिक सहायता रोक्का गर्नुपरेको प्रष्टयाउनु भएको हो । बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरेको सचिव चौधरीले स्पष्ट पार्नुभयो ।

 

आइतबार काठमाण्डौमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा उहाँले आँखाको क्यान्सर रोगको उपचारको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन भने दिनुभयो । सचिव चौधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको पनि जानकारी दिनुभयो ।

 

आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरेको कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइनेछ । कार्यक्रममा तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु‍भएको थियो ।

 

आँखाको रोगको क्षेत्रमा अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजलाई त्यस रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाइन सेवामार्फत सर्वसाधारणले हेर्ने व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गराउनु भयो । यो रोग ५ वर्षमुनिका बालबालिकामा देखा पर्ने गर्दछ ।