सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

सडक मर्मत नभएको विरोधमा चापागाउँवासी आन्दोलित, सडक विभाग घेराउ


प्रकाशित समय: मगलवार, १२ : ५२ बजे बैशाख ३१ गते



सडक मर्मत नभएको विरोधमा चापागाउँवासी आन्दोलित, सडक विभाग घेराउ

ललितपुर- सातदोबाटो चापागाउँ सडकखण्ड मर्मत नगरेको भन्दै स्थानीयले मंगलबार सडक विभागको पाटन कार्यालय घेराउ गरेका छन् ।

 

साविकको चापागाउँ गाविस बन्द गरेर दवाव सुरु गरेका स्थानीयले सडक निर्माण तथा मर्मतको काम शुरु नगरेको भन्दै सडक विभागको कार्यालय घेराउ गरेका हुन् ।

 

स्थानीय वासिन्दाले सडक विभाग घेराउ सँगै नारावाजी समेत गरेका छन् । उनीहरुले  "धुँवाधुलो अति भो, ठेक्का भाको कति भो" जस्ता नारा लगाएका छन् ।

 

स्थानीयले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएपछि मंगलबार सडक विभाग पाटनमा स्थानीय जनप्रतिनिधि, नागरिक समाज र सडक विभागका प्रतिनिधिको बैठक बसिरहेको छ ।

 

बैठकमा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा, ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवाल, ललितपुर क्षेत्र नम्बर ३ का सांसद पम्फा भुसाल, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, निर्माण व्यवसायी ललित ध्वज खड्का, सडक विभागका महानिर्देशक इन्जिनियर केशवकुमार शर्मा लगायत स्थानीय सरोकारवाला बीच सडक विभागको कार्यालय पाटनढोकामा छलफल भइरहेको छ ।

 

देशमा संघीय , प्रदेश  र स्थानीय सरकार हुँदा समेत सातदोबाटो चापागाउँ सडक मर्मत र कालोपत्रे नगरिएको भन्दै त्यहाँका स्थानीय आक्रोशित बनेका छन्। सडक पानी परेपछि हिलो हुने र घाम लगेपछि धुलो उड्ने गरेकाले सर्वसाधारणलाई ओहोरदोहोर गर्दा दुःख झेल्नुपरेको टाखेलका स्थानीय शेखर न्यौपाने बताउँनुहुन्छ।

 

तत्काल सडक निर्माण र मर्मत गर्न दबाब दिने उद्देश्यले सातदोबाटो- चापागाउँ- टाखेल सडकखण्डमा विभिन्न दबाब समिति समेत बनेका छन्।

 

सडकको अवस्था अत्यन्तै नाजुक रहेको र सो सडकको दुर्दशाले गर्दा दैनिक आवात(जावत तथा जनताको स्वास्थ्यमा समेत विकराल समस्या उत्पन्न भएको भन्दै दीर्घकालीन समस्या समाधान गर्न दबाबमूलक कार्यक्रम सुरु गरिएको स्थानीय न्यौपानेले बताउनुभयो।

 

यसअघि गत आइतबार सडक मर्मत नभएको विरोधमा स्थानीयले चापागाउँ बन्द गरेका थिए ।