सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ८ भदौ २०७६ / Sunday, 25 August 2019

चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षकलाई मासिक तलब खुवाइने


प्रकाशित समय: शुक्रवार, ०७ : ४५ बजे जेठ २४ गते



चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षकलाई  मासिक तलब खुवाइने

 सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षकलाई अबदेखि मासिकरुपमा तलब उपलब्ध गराउने भएको छ ।

 

शिक्षण पेशाका कर्मचारीलाई चौमासिक तलब भुक्तानी गर्दा सधैँ आर्थिक समस्यामा परिरहने अवस्थाको अन्त्य गर्न नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ ।

 

चौमासिक तलब भुक्तानीलाई अन्त्य गर्दै हरेक महीनाको ५ गतेभित्र मासिक तलब निकासा गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताउनुभयो ।

 

शिक्षक, कर्मचारी र बालविकासका सहयोगीसमेतलाई अबको आर्थिक वर्षबाट मासिकरुपमा तलब निकासा गर्ने बताइएको छ । “अबको चरण भनेको गुणस्तरीय शिक्षाको हुनेछ जसको पहिलो कडी शिक्षकको आर्थिक समस्यालाई हल गर्दै चौमासिक तलबलाई हामी मासिक गराउने छौँ । शिक्षा क्षेत्रमा केही नयाँ अभ्यास गर्ने चरणमा छौँ हामीले सधैँ शैक्षिक गुणस्तरका कुरा ग¥यौँ, यो भएन त्यो भएन भन्यौँ तर शिक्षकलाई हेरेनौँ”, नगरप्रमुख तामाङले भन्नुभयो ।

 

नगरपालिकाभित्रका सबै तहका गरेर ४५१ शिक्षक, लेखा कर्मचारी, कार्यालय सहयोगी र ६५ वटा बालविकासका सहयोगीसमेतलाई मासिक तलब भत्ताको व्यवस्था गर्न कठिन भए पनि शिक्षक, कर्मचारीको हितमा नयाँ अभ्यासको थालनी गर्ने निर्णय गरिएको नगरप्रमुख तामाङको भनाइ छ ।

 

हालसम्म पनि शिक्षकहरुले चौमासिक तलब भुक्तानी पाउँदै आएकामा सम्भवतः मासिक तलब भुक्तानीको निर्णय गर्ने चौतारा साँगाचोकगढी पहिलो नगरपालिका बनेको छ ।