सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

राधेलाई तत्काल रिहाई नगरे मुलुक ठप्प पार्छौं : तरुण दल


प्रकाशित समय: शनिवार, ०२ : १० बजे जेठ २५ गते



राधेलाई तत्काल रिहाई नगरे मुलुक ठप्प पार्छौं : तरुण दल

काठमाडौँ, नेपाल तरुण दलले आफ्ना नेता राधेकृष्ण भण्डारीलाई तत्काल रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

 

राज्य संयन्त्रबाटै किर्ते कागज बनाई गत जेष्ठ २२ गते पक्राउ गरिएको घटनाप्रति नेपाल तरुण दलले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। भण्डारीलाई वैचारिक आस्था नमिलेकै भरमा राज्य प्रशासनबाटै फसाउने उद्देश्यले पक्राउ गरिनु लोकतान्त्रिक व्यवस्था कै खिलाप छ, विज्ञप्तिमा भनिएको छ।

 

धादिङको रोराङ गाउँपालिकामा भएको सामान्य विवाद छुट्याउन जाने क्रममा जनक मगर घाइते भएको र प्रहरीले घटनामा संलग्न हुँदै नभएका तरुण दलका उपाध्यक्ष भण्डारीलाई घाइते मगरले किटानी जाहेरी दिएको गलत कागज बनाई पक्राउ गरेको थियो।

 

वास्तविक घटनालाई तोडमोड गरी भण्डारीलाई सुनियोजित तरिकाले फसाउने उद्देश्यले पक्राउ गरिएकाले उनलाई तत्काल रिहाइ नगरिए देशभर कडा आन्दोलन गर्ने तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए।

 

वर्तमान सरकार अधिनायकवादी चिन्तनबाट जनतालाई शासन गर्ने र आफू इतर विचार राख्ने जो कोहीलाई पनि कुनै न कुनै बहानामा मुद्दा लगाएर फसाउन सरकार उद्धत रहेको नेता बस्नेतले बताए।