सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

रनवे रिह्याब’ को मुख्य काम सकियो


प्रकाशित समय: सोमवार, ०५ : १९ बजे जेठ २७ गते



रनवे रिह्याब’ को मुख्य काम सकियो

  काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ ।

 

विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार धावनमार्ग खनेर पिच परिवर्तन गर्ने पहिलो चरणको काम सकिएको छ । अब पुनः पातलो गरी कालोपत्र गरिनेछ । बाँकी काम यही असार १५ भित्रै सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको छ ।

 

आयोजनाले गत चैत १८ देखि धावनमार्ग मर्मतको काम शुरु गरेको थियो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग पूर्णरुपमा पिच परिवर्तन गर्न लागिएको हो । स्तरोन्नतिको काम थालिएको तीन महीनासम्म दैनिक १० घण्टा उडान बन्द गरेर काम गरिँदै आएको छ ।

 

आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले दिनुभएको जानकारीअनुसार धावनमार्गको पहिलो चरणको कालोपत्र यही जेठ २५ गते सकिएको थियो । दोस्रो चरणको पिच राख्ने कार्य पुनः शुरु भइसकेकाले अबको १५ दिनभित्र धावनमार्गको स्तरोन्नतिको काम सकिने श्रेष्ठको भनाइ थियो । धावनमार्ग मर्मतको पहिलो चरणमा तल्लो ‘लेयर’ को काम सकिएको छ ।

 

यसमा २० सेन्टिमिटर कालोपत्र गरिएको छ । अब दोस्रो चरणमा ६.५ सेन्टिमिटर कालोपत्र थपिनेछ । धावनमार्गको मर्मतसँगै पहिलो पटलक ‘रनवे सेन्टरलाइन लाइट’ जडान गरिएको छ । बत्ती जडानको अहिलेसम्म ‘डट’ हाल्ने काम सकिएको छ ।

 

यसअघि विमानस्थलमा रनवेको ‘एज लाइट’ मात्र थियो । स्तरोन्नतिको शुरुआती चरणमा एक÷दुई दिनबाहेक बिना अवरोध तीव्र गतिमा काम भइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । नेपाली तथा चिनियाँसहित २५० भन्दा बढी जनशक्तिले काम गरिरहेका छन् ।