hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

पीडामा राजनीति कहिलेसम्म ?


प्रकाशित समय: शुक्रवार, ०७ : ५१ बजे जेठ ३१ गते



पीडामा राजनीति कहिलेसम्म ?

बिजय राज बिस्ट -   जब माओवादिले युद्ध थालनी गर्यो तब लाग्ने गथ्र्यो साँच्चै समाज लाई परिबर्तन गराउने पाटी यो पो रहेछ । सदियौंदेखि समाजमा भएका कुरीति र विकृती हटाउने पाटी यही नै हो । तास खेलीरहेका खेल्नै छाडेर भाग्थे । भाग्थे मात्रै होइन खेल्न नै छाडे । बहुबिबाह गाउँघरमा हुन छाड्यो । जाड खाएर गर्ने होहल्ला बन्द भयो । गाउँ साँझ मै निदाउँथ्यो साँझमा नै शान्त हुन्थ्यो । डरले नै सही मानिसहरु अनुशासित भएका थिए । हुन त विकृति विसंगतिको न्युनिकरण प्रशासनले गर्नुपर्ने हो तर रिजल्टका हिसाबले माओवादीले गरेका कामको रिजल्ट छिट्टै आउँथ्यो त्यसैले उनीहरुको काम एकदम मन पर्दथ्यो ।

 

म काङ्ग्रेसको राजनीतिक पृष्ठभुमि भएको परिवारमा जन्मे । बुबा स्व. भैरब राज बिष्ट पनि गोर्खा मा नै राजनीति गर्ने भएकोले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको आउजाउ बाक्लै हुन्थ्यो । कसैलाई केहि परे सहयोग गरी हाल्ने बुबाको बानी थियो । गाउँका सर्बसाधरणलाई माओवादी भन्दै प्रहरी प्रसाशनले समात्यो भने, दुख दियो भने छुटाउन मद्दत गर्ने , गरीब लाई पढ्न सहयोग गर्ने, बेरोजगारका लागि रोजगारको लागी सहयोग गर्ने गर्नु हुन्थ्यो । बुबा राजनितिक कार्यकर्ताका साथै समाजसेवी पनि हुनुहुन्थ्यो ।

 

बुबा काग्रेंसको विचारधारा राख्ने, समाजम सहयोगी, पुलिस प्रशासनले पनि पत्याउने हुनुहुन्थ्यो । बेला–बेला माओवादीले निहत्थाको हत्या गर्दा मनमा नमिठो डर परिवारका सम्पुर्ण सदस्यलाई थियो । फेरि त्यतिबेला माओवादीको निशाना काग्रेंस कार्यकर्ता बढी नै भएको तथ्याकं हेर्दा पनि थाहा हुन्छ । समाजमा चर्चित भएको कारण माओवादीको निशानामा बुबा हुनुहुन्थ्यो । बुबा लाई त्यहा नबस्न आग्रह नगरेको पनि होइन । तर बुबाले सो कुरालाई बेवास्था गर्नुभयो । विनाकारण किन कोहीलाई मार्छन र भन्ने आत्मविश्वास उहाँमा थियो । उहाँले हामीलाई पनि विश्वस्त हुन भन्नुभएको थियो । म सानै थिए त्यसैले सबै कुरा बुझाएर बुबालाई प्रेसर दिन सकिन । बुबालाई राजनितिमा बहुत लगाव थियो । नयाँ ठाउँमा स्थापित हुन गा¥हो हुन्छ भन्ने उहाँलाई राम्रोसँग थाहा थियो। तसर्थपनि उहाँ आफ्नो गाउँ ठाउँ छाडेर जान चाहानुहुन्नथ्यो । व्यक्तिगत रुपमा लोकप्रिय भएकाले नेपाली कांङ्ग्रेसको रुखलाई भन्दा बढी उहाँलाई मत दिने धेरै व्यक्ति थिए । उहाँको लोकप्रियता माओवादीलाई मन परेको थिएन । किनकि माओवादीलाई भन्दा बुबालाई मानिसहरु विश्वास गर्थे । त्यस क्षेत्रमा काग्रेंसको पकड कम बनाउन माओवादीलाई ठूलो चुनौती थियो । तसर्थ बुबाको हत्या गर्ने योजना उनीहरुले बनाए । आफू बलियो हुन निहत्थाको हत्या गर्ने परिपाटी राजनितिमा सामान्य होला । तर पारिवारिक रुपमा त्यो कति ठूलो पिडा छ त्यो बस म र मेरो परिवार लाई थाहा छ । अरु त्यस्तै आफन्त गुमाएका परिवारलाई थाहा होला ।

 

२०५८ पौष २२ मा हामी सबै घरमा सुतिरहेका थियौं । सुतिरहेकै अवस्थामा अत्यन्तै पाशविक तरिकाले माओवादीले बुबाको हत्या गरे । पछि त्यो हत्या भुल भयो भनेर माओवादीका जिम्मेवार नेताले भनेको पनि पाइयो । कोही कसैको लहडमा हाम्रो सहारा, आमाको सिन्दुर, हजुरआमाको काख रित्याउने र हामीहरुको हाँसो खोस्ने खै तिम्रो कस्तो भूल हो । भूल भयो भन्दैमा हाम्रो खुशी त फिर्ता हुदैन नि ? भएन पनि । तर कोहीको जीवन जिउने अधिकार नै बन्द गरिसकेर भूल भन्ने खै कस्तो राजनिति हो ? त्यो मैले आजसम्म बुझ्न सकेको छैन् । जब म राजनीति बुझ्ने भए मलाई माओवादीको असल रुप प्रष्ट भयो । हिजो तास खेल्न नदिने ,मदिरा सेवन गर्न बन्देज गरी जनवाद लिन हिडेकाहरु आज क्यासिनो छिर्ने भए, स्टार होटलमा मदिरामा लठ्ठ हुन थाले, वहुबिवाहमा कारवाही गर्नेहरु वहुबिवाहमा रमाउन थाले । हिजो आफ्नो पुर्खौली सम्पती हुनेहरुलाई सामन्ती भन्नेहरु दशवर्षको जङ्गल बसाइँ पछि करौडौ को गाडी चढ्ने, करौडौ को आलिसान महलमा बस्ने हैसियतमा पुगे । हिजो माओवादको नाममा जनवादी शासन ल्याउने भन्दै हत्या आतंक फैलाउनेहरु आज सो वाद नै विलय गराएर हिजोको गल्तीबाट बच्ने कोसिशमा छन् । त्यसैले त उनीहरु कम्युनिष्ट एक हुने नाममा एमालेमा विलिन भए ।

 

सत्ता मोहमा नेपाली काङ्ग्रेस पनि फस्यो । स्थानीय तहको निर्बाचनमा माओवादीलाई मत दिन त कहिले नयाँशक्तिलाई मत दिन उर्दि जारी सम्म गर्न पछि परेन । हिजो काङ्ग्रेस भएर काग्रेंसकोे आस्था छोड्न नमान्दा मारिएका आफ्ना नेता, कार्यकर्ता भुल्यो । सीमित स्वार्थपुर्ति ,सत्ता लिप्सामा लागे पछि माओवादीले आफ्नो असली रुप देखाईदियो । स्थानीय निर्वाचनमा कानुनका हरप पल्टायर मतपत्र च्यात्न लगाउनु भन्दा हिजो युद्धका नाममा मारिएका आफ्ना नेता तथा कार्यकर्ताको न्यायको लागि अन्तर्राष्ट्रिय नियम कानुनका धारा पल्टाउन सकेको भय काङ्ग्रेस हालको स्थितीमा आउने नै थिएन । राजनीति गर्नेमा न ईमान्दारिता छ, न निष्ठा नै । पाटीमा दुख गरेर पाटी जोगाएकाहरुको होइन पाटीमा लागेर कमाउ धन्दा नै चलाउनेको बोलवाला छ । माओवादीको गाना बजाएर, काङ्ग्रेस झन्डामा माओवादी झन्डा गाँसेर हिड्दा पनि अलिकति अप्ठ्यारो लागेको देखिएन । माओवादीले १० वर्ष मच्चाएकोे हिंस्रक गतिविधि राजनीतिक आन्दोलन रे । घर मा सुतिरहेका निहत्था व्यक्ती हरु मार्नु, काट्नु पर्ने खै कस्तो राजनितिक आन्दोलन हो ? राजनितिक आन्दोलन विचारले हुन्छ न कि हतियारले ।

 

यदि राजनितिक आन्दोलन गरेको भए र अन्तराष्ट्रिय जगतले शसस्त्र द्वन्दलाई राजनितिक आन्दोलनको मान्यता दिएको भए सर्वहारा वर्गका महान नेता स्वास्थ्य उपचारकालागि अमेरिका जाँदा समातिन्छु कि भनेर डराउन पर्ने कारण किन आयो त ? माओवादीको “राजनितिक आन्दोलन”मा हजारौ बाबु–आमा छोराछोरी गुमाउनुको पीडामा आँसुको जीवन बाँचिरहेका छन् भने सर्वहारा वर्गका नेता सन्तान सुखमा रमाइरहेका छ्न । जो परिवारिक सुखसयलका लागी युद्ध गर्छ, पैसाका लागि हजारौ निहत्था नागरिकको हत्या गर्छ तिनीहरुलाई भौतिक सुख शान्ति त मिल्यो होला तर उनीहरुका स्वार्थका कारण ज्यान गुमाउन पुगेकाहरुका पीडकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा कानुन अनुसार कारवाही नभएसम्म कसरी शान्ति मिल्न सक्छ र ? अन्तराष्ट्रिय मानब अधिकार र मानविय कानुन उल्लंघनका घटनाको निष्पक्ष र प्रभावकारी रुपमा अनुसन्धान र छानबिन होस् । संक्रमणकालीन न्यायका सम्यत्रहरु अन्तर्राष्ट्रिय स्तरको विश्वास जित्न सक्ने, पीडितलाई न्याय दिन सक्ने र पिडकलाई करवाही गर्न सक्षम खालको होस् । पीडकलाई जोगाउने खालको आयोग बन्दैमा र पीडक सत्तामा पुग्दैमा शान्ति कायम हुनै सक्दैन ।

 

फरक राजनीतिक आस्था राखेकै आधारमा मारिएका आफ्ना मृतक नेता तथा कार्यकर्तालाई न्याय दिन त दलहरु चुकेकै हो । अझ सत्तामोहमा फसेर कहिले तालमेल र कहिले एकिकरणको मोहमा फसेको हामीसामु छर्लङ्ग छ । आफ्ना कार्यकर्ताको हत्या गर्नेसँग मिलाएको काँध र समाएको हात धेरै दिन टिक्न सकेन । त्यसैको कारण पनि हो कांग्रेसको हार । कुनैपनि दललाई विश्बास गर्ने आधार दलले अपनाएको नीति र विचार हो । नीति राम्रो नभए न नेता राम्रो हुन्छ न पाटी नै । न्याय दिन नसकेपनि कांग्रेसको आस्था र विचारलाई आत्मासाथ गरेका आम नेता कार्यकर्ताको मन कुडिने काम कांग्रेसले नगरोस् । आफ्नै आम कार्यकर्ताको पीडा बुझ्न नसकेपनि पीडामा राजनिति गर्ने काम आजैबाट बन्द होस् । पीडामा राजनीति गरेर सत्तामा रमाउँदा अलिकति भएपनि हिनताबोध हुन पर्ने होइन र ?

 

पिडक सत्तामा रमाउँदा पीडित सडकमा न्याय को पर्खाइमा वर्षैा बस्नुपर्ने यो कस्तो शासन हो ? न्याय दिन नसकेपनि पीडितहरुको जीवनस्तर राम्रो बनाउन धेरै काम गर्न सकिन्थ्यो तर त्यो समेत भएको छैन् । जवान छोराछोरी गुमाएका वृद्ध बुबाआमा एकपेट खानका लागि सडकमा माग्नुपर्ने अवस्था छ । पति गुमाएका पत्नीहरुले आफ्नो पैतृक सम्पति पाउन घरमा नै लडाई गर्नु परिरहेको छ । कति त कुसस्कारको नाममा रहेको बोक्सीको आरोपमा घरबाट निकालिएका छन् । कति बुबा आमा गुमाएका बालबच्चाहरु राम्रो अभिभावकत्व नपाउँदा पढ्नबाट वञ्चित छन् । घाइतेहरु १५ वर्षसम्म उपचार नपाएर माइतीघर मण्डलामा बस्नुपर्ने अवस्था कसरी आयो ? वर्षैासम्म बेपता भएकाहरुको खोजी आजसम्म हुन सकेको छैन । यी सबै कुरालाई हेर्दा न्याय नपाए गोर्खा जानु उतिm अब एकादेशको कथा भएको छ । अब नेपाललाई न्याय हराएको देश भन्दा फरक नपर्ला । नागरिकको साधारण जीवनयापनका लागि समेत सहयोग गर्न नसक्ने सरकारले देशको समृद्धि र विकासको कुरा गर्न लाज लाग्नुपर्ने होइन र ?