hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

लमजुङमा बन्नेभयो, विश्वकै अग्लो स्थानको ‘स्मार्ट फिल्म सिटी’


प्रकाशित समय: बिहिवार, ०७ : ५० बजे असार १९ गते



लमजुङमा बन्नेभयो, विश्वकै अग्लो स्थानको ‘स्मार्ट फिल्म सिटी’

 काठमाडौँ-  लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ ।

 

पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि आज नेपालको स्काइ इन्टरटेनमेन्ट प्राली र इटालीयन निर्माण कम्पनी वल्र्ड एरिया होल्डिङ् एसआरएलबीच सम्झौता भएको छ ।

 

निर्माण सम्पन्न भए यो विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म सिटी हुनेछ । सो क्षेत्र दुई हजार ६० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइमा रहेको छ । विश्वस्तरको अत्याधुनिक प्रविधिसहित झण्डै १६ वटा फिल्म छायाङ्कन स्थल निर्माण गर्ने लक्ष्यसहित उक्त परियोजना सञ्चालनका लागि नेपालको स्काइ इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिङ्नोरिल्लोबीच आज काठमाडौँमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको उक्त समारोहमा आफ्ना भनाइ राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘स्मार्ट फिल्म सिटी’ नेपालको चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको प्रतिक्रिया दिनुभयो ।

 

झण्डै रु छ अर्बको लगानीमा निर्माण हुने फिल्म सिटीको डिपिआरको काम आगामी तीन महीनाभित्रमा शुरु गर्ने परियोजना संयोजक राजेशकुमार पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकतम सात वर्षमा परियोजना सम्पन्न हुने लक्ष्य छ । उक्त परियोजनाअन्तर्गत १६ वटा चलचित्र छायाङ्कन स्थल निर्माण गर्न सकिने भए पनि पहिलो चरणमा भने १२ वटा निर्माण गरिने जनाइएको छ ।

 

परियोजनाभित्र तारे होटल, चलचित्रको अध्ययन गर्ने कलेज, केबुलकार, अग्र्यानिक फार्म, विभिन्न खेलकूदस्थल तथा विभिन्न देश र नेपालको मौलिक पहिचान बोकेका भौतिक संरचना नमूनाका रुपमा निर्माण गरिनेछ । ‘वल्र्ड स्काइ सिने भिलेज नेपाल’को नाममा निर्माण हुने फिल्म सिटीमा विश्वस्तरको प्रविधि प्रयोग गरेर फिल्म छायाङ्कन गर्ने स्टुडियो बनाइनेछ ।

 

हिमालको अगाडि गल्फ, बञ्जीजम्प, प्याराग्लाइडिङ र स्वीमिङ पुलसमेत बन्नेछ । यस्तै काठमाडौँका महत्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदा जस्तै भौतिक संरचना बनाइने स्काइ इन्टरटेनमेन्ट प्रालि नेपालका अध्यक्ष आकास अधिकारीले बताउनुभयो । “नेपालमा कुनै अत्याधुनिक प्रविधिको छायाङ्कनस्थल छैन, जसका कारण विदेशी चलचित्रकर्मी अर्कै देश जान बाध्य छन्, फिल्म सिटीले उनीहरु यहाँ आएर पूर्ण फिल्म निर्माण गर्न सक्ने छन्”, अधिकारीले भन्नुभयो ।

 

उहाँले परियोजना सम्पन्न भएपछि आउट डोर र इन्डोर सबै छायाङ्कन गर्न सक्ने बताउनुभयो । यस्तै दुई कम्पनीबीच एशिया क्षेत्रको व्यवस्थापन नेपाली कम्पनीले र अन्य मुलुकको व्यवस्थापन इटालीयन कम्पनीले गर्नेसमेत सहमति भएको उहाँले बताउनुभयो ।

 

वल्र्ड एरिया होल्डिङ एसआरएल इटालीका अध्यक्ष फ्रान्सिस्कोले सम्झौतापछि सङ्क्षिप्त भनाई राख्दै पहिलो घर रोम रहेको र अब दोस्रो घर नेपाल बन्न लागेको उल्लेख गर्दै नौलो परिवेषमा प्रवेश गरेकामा खुशी व्यक्त गर्नुभयो । वरिष्ठ चलचित्रकर्मी नीर शाहले राष्ट्रिय चलचित्र उद्योगमा एउटा नयाँ आयाम भएको उल्लेख गर्दै दोलखाको जस्तो हुन नहुनेमा जोड दिनुभयो ।

 

इटाली आफैँमा पनि चलचित्र उद्योगको अग्रणी देश भएको स्मरण गर्दै उहाँले त्यस्तो देशको लगानी भित्रिनु आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । उक्त फिल्म सिटीको सांस्कृतिक र व्यापारिक महत्व ठूलो रहेकोसमेत उहाँको भनाइ थियो ।